‘एयर रूट’मा नेपालको वर्षौँ पुरानो सपना साकार, तर कुन ‘कस्ट’मा पाइयो भन्ने खुलेन
एकतर्फी रहेको भैरहवा नाकाको हवाई मार्ग दोहोरो बनाउने सहमतिले वर्षौँदेखिको गतिरोध चिरे पनि यसको बदलामा नेपाली आकाश प्रयोगको सम्भावित सर्त र प्राविधिक रूपरेखा अझै स्पष्ट छैन।
काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त प्रेस विज्ञप्तिले नेपालको उड्डयन क्षेत्रमा वर्षौँदेखि रहँदै आएको प्रतीक्षाको घडीलाई नयाँ मोड दिएको छ । नेपाल र भारतबीच हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको (बी–३४५) काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुवैतर्फी बनाउने सहमति भएको छ ।
करीब १७ वर्षदेखि नेपालले वैकल्पिक तथा दोहोरो हवाई प्रवेश मार्ग माग गर्दै आएकामा भैरहवा नाकाबाट विमान भित्रिन पाउने गरी भएको यो सहमतिलाई कूटनीतिक र प्राविधिक दुवै कोणबाट अर्थपूर्ण मानिएको छ । तर, यो सहमति कुन सर्त वा मूल्यमा सम्भव भयो भन्ने विषय संयुक्त विज्ञप्तिमा स्पष्ट पारिएको छैन ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा सार्वजनिक संयुक्त विज्ञप्तिमा नागरिक उड्डयनसम्बन्धी छलफललाई अगाडि बढाउने उल्लेख गर्दै भैरहवा रुटलाई दुवैतर्फी बनाउने विषय समेटिएको छ ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, “नेताहरूले सम्पर्क सञ्जाल विस्तार गर्ने र द्विपक्षीय आर्थिक संलग्नतालाई बढावा दिने उद्देश्यका साथ नागरिक उड्डयनका विषयहरूमा भइरहेका छलफलहरूलाई ध्यानमा राखे । दुवै पक्ष विद्यमान एकतर्फी बी–३४५ काठमाडौँ–भैरहवा–लखनउ मार्गलाई दुवैतर्फी बनाइने कुरामा सहमत भए । यस सम्बन्धमा कार्यविधिहरूलाई अन्तिम रूप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयन प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्शहरू गरिनेछन् ।”
किन रोकिएको थियो भैरहवा नाकाबाट विमान छिर्न ?
नेपालले लामो समयदेखि भैरहवासहित नेपालगन्ज, महेन्द्रनगर र जनकपुरका हवाई मार्गलाई दुवैतर्फी वा अन्तर्राष्ट्रिय प्रवेश बिन्दुका रूपमा प्रयोग गर्न दिन भारतसँग आग्रह गर्दै आएको थियो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि ती विमानस्थलको व्यावसायिक दिगोपनाका लागि पश्चिमी तथा दक्षिणी नाकाबाट सजिलो हवाई प्रवेश मार्ग अत्यावश्यक ठानियो । काठमाडौँको सिमरा नाकामाथि रहेको हवाई चाप घटाउन र उडान दूरी छोट्याउन पनि भैरहवा मार्ग खुल्नु महत्त्वपूर्ण मानिन्थ्यो ।
तर, भारतले सुरक्षा संवेदनशीलता, हवाई क्षेत्र व्यवस्थापन, रडार तथा सञ्चार समन्वय र पारस्परिक लाभजस्ता विषय अघि सार्दै यो मार्गलाई दुवैतर्फी बनाउन आनाकानी गर्दै आएको थियो ।
पछिल्ला समयमा भारतले भैरहवा र नेपालगन्जका हवाई मार्ग खोल्ने विषयमा रक्सौल तथा पश्चिम बंगालका विमानस्थलहरूले नेपाली आकाश प्रयोग गर्न पाउनुपर्ने सर्त राखेको चर्चा बाहिर आएको थियो । यद्यपि, संयुक्त विज्ञप्तिमा नेपाली आकाश भारतले प्रयोग गर्ने विषयबारे कुनै उल्लेख छैन, बरु बाँकी प्रस्तावहरू प्राविधिक परामर्शबाट टुङ्ग्याउने भनिएको छ ।
नेपाललाई कति लाभ ?
नेपालको अन्तर्राष्ट्रिय हवाई प्रवेश तथा बाहिरिने मार्गहरू मुख्यतः सिमरा, भैरहवा, जनकपुर, विराटनगर, नेपालगन्ज र महेन्द्रनगर क्षेत्रसँग जोडिएर सञ्चालनमा छन् । तीमध्ये अधिकांश मार्ग लामो समयदेखि एकतर्फी वा सीमित प्रयोगमा रहँदा काठमाडौँ उपत्यकाको आकाशमा विमानहरू होल्डमा बस्नुपर्ने र इन्धन तथा समय बढी खर्च हुने अवस्था रहँदै आएको थियो ।
भैरहवा नाकाबाट विमान भित्रिन थालेपछि भैरहवा र पोखरा विमानस्थल जोड्ने हवाई बाटो छोटो हुने र हवाई भाडा तथा सञ्चालन लागत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपालगन्जको हवाई मार्गलाई पनि दुवैतर्फी बनाउने माग भने अझै पूरा हुन बाँकी छ र प्राविधिक परामर्शको एजेन्डामा तानिएको देखिन्छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र उड्डयन कूटनीतिको कोणबाट हेर्दा संयुक्त विज्ञप्तिको यो बूँदामा ‘सैद्धान्तिक सहमति’ र ‘प्राविधिक कार्यविधिको बाँकी प्रक्रिया’ बीच सन्तुलन खोजिएको देखिन्छ । बी–३४५ मार्गलाई दुवैतर्फी बनाउने निर्णयले लामो समयदेखि अड्किएको एउटा प्रमुख द्विपक्षीय मुद्दामा राजनीतिक तहमा समझदारी बनेको सङ्केत दिन्छ । यसले प्रधानमन्त्रीको भ्रमणलाई ठोस उपलब्धि देखाउने आधार दिएको छ ।
तर, याे सहमति अझै कार्यान्वयनको अन्तिम चरणमा पुगिसकेको छैन । मार्ग खोल्ने सहमतिसँगै उडान उचाइ, वायुसेवाको पहुँच, सुरक्षा प्रोटोकल र पारस्परिक सहुलियतका विषय प्राविधिक समितिमै अड्किएर लम्बिने जोखिम पनि रहन्छ ।
अर्कोतर्फ, नेपाली आकाश प्रयोगको सम्भावित भारतीय चासो विज्ञप्तिमा नखुल्नुले या त भारतले तत्काललाई उक्त शर्त नरम बनाएको छ वा त्यो विषय ‘अन्य नागरिक उड्डयन प्रस्ताव’ भित्र राखेर बन्द कोठाको प्राविधिक मोलमोलाइका लागि सुरक्षित राखिएको छ भन्ने पनि खुलेकाे छैन ।
त्यसैले भैरहवा मार्ग खुल्नु सकारात्मक कदम भए पनि नेपालले कस्तो शर्त वा सहुलियतमा यो उपलब्धि हासिल गर्यो भन्ने वास्तविक तस्बिर प्राविधिक वार्ता र त्यसको कार्यान्वयनपछि मात्र स्पष्ट हुनेछ ।















