८ मंसिर २०८३, मंगलबार

रेमिट्यान्स बढिरहेकै बेला बैंकबाट किन बाहिरिँदैछ निक्षेप ? मंसीरको चार दिनमै घट्यो २४ अर्ब



चाडपर्वको याम सकिएसँगै बैंकहरूबाट निक्षेप बाहिरिने क्रम बढेकाे छ । प्रणालीमा अधिक तरलता कायमै रहे पनि नयाँ कर्जाको माग भने सुस्ताएको छ। यसले पैसा वास्तवमा कता गइरहेकाे छ भन्ने प्रश्नकाे जवाफ मागिरहेकाे छ ।

काठमाडाैँ । दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वको याम सकिएलगत्तै नेपालको बैंकिङ प्रणालीमा निक्षेप घट्ने क्रम सुरु भएको छ भने कर्जा विस्तार पनि सुस्ताएको छ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेअनुसार पछिल्ला ३ हप्ताकाे अद्यावधिक विवरणअनुसार कात्तिक ३० को तुलनामा मंसीरको सुरुवाती चार दिनमै वाणिज्य बैंकहरूबाट २४ अर्ब रूपैयाँ निक्षेप बाहिरिएको छ। सोही अवधिमा कर्जा प्रवाह भने एक रूपैयाँ पनि बढ्न सकेन।

पछिल्लो गिरावटसँगै बैंकिङ प्रणालीमा कुल निक्षेप ७६ खर्ब ९६ अर्ब रूपैयाँमा झरेको छ। कुल कर्जा प्रवाह भने ५४ खर्ब ३८ अर्ब रूपैयाँमै स्थिर रहेको संघको तथ्याङ्कले देखाउँछ।

दशैँ पछिकाे सातामा पनि वाणिज्य बैंकहरूमा मात्रै २८ अर्ब २४ कराेड निक्षेप घटेकाे थियाे । त्यसपछि साढे २१ अर्ब जति थपिए पनि अन्तिम साता पुनः २३ अर्ब ६२ कराेड निक्षेप घटेकाे छ ।

असोजको उछालपछि संकुचन

चाडपर्वको मुख्य किनमेल र आर्थिक गतिविधि हुने असोज महिनामा बैंकहरूको निक्षेप र कर्जा दुवैमा उल्लेख्य सुधार देखिएको थियो। असोज मसान्तमा निक्षेप १ खर्ब ७६ अर्ब रूपैयाँले बढेर ७७ खर्ब ५० अर्ब रूपैयाँको कीर्तिमानी उचाइमा पुगेको थियो। सोही महिनामा बैंकहरूले ८५ अर्ब रूपैयाँ थप कर्जा विस्तार गरेका थिए।

तर, कात्तिक महिना लागेसँगै निक्षेप ओरालो लाग्न थालेको हो। कात्तिक मसान्तमा ३० अर्ब रूपैयाँले घटेको निक्षेप मंसीरको चौथो दिनसम्म आइपुग्दा थप २४ अर्ब रूपैयाँले खुम्चिएको छ। पछिल्लो एक महिना चार दिनको अवधिमा मात्रै प्रणालीबाट ५४ अर्ब रूपैयाँ निक्षेप घटेको देखिन्छ।

यद्यपि, चालु आर्थिक वर्षको सुरुवाती विन्दु अर्थात् गत असार मसान्तको तुलनामा भने निक्षेप र कर्जा दुवै सकारात्मक लयमै छन्। असार मसान्तमा ७४ खर्ब ९८ अर्ब रूपैयाँ रहेको कुल निक्षेप मंसीर ४ सम्म आइपुग्दा १ खर्ब ९८ अर्ब रूपैयाँ अर्थात् २.६४ प्रतिशतले खुद वृद्धि भएको छ।

त्यस्तै, असार मसान्तमा ५२ खर्ब ९० अर्ब रूपैयाँ रहेको कर्जा चार महिनाको अवधिमा एक खर्ब ४८ अर्ब रूपैयाँ अर्थात् २.८० प्रतिशतले विस्तार भएको छ।

रेमिट्यान्स भित्रिँदा पनि किन घट्यो निक्षेप ?

मुलुकमा विप्रेषण अर्थात् रेमिट्यान्स आप्रवाह निरन्तर बढिरहेको विवरण आइरहँदा बैंकिङ प्रणालीको निक्षेप घट्नुलाई अर्थतन्त्रका जानकारहरूले स्वाभाविक मौसमी चक्रका रूपमा व्याख्या गरेका छन्। चाडपर्वका बेला विदेशमा रहेका नेपालीले पठाएको रकम परिवारको खातामा जम्मा हुने भएकाले असोजमा निक्षेप ह्वात्तै बढेको थियो।

बैंकरहरूका अनुसार चाडपर्व सकिएपछि सर्वसाधारणले उपभोग, घुमफिर र घरायसी खर्चका लागि खाताबाट रकम झिक्ने क्रम बढ्छ। अर्कोतर्फ, चाडपर्वमा आयात गरिएका सामानको भुक्तानी (प्रतीतपत्र फर्स्योट) गर्ने समय कात्तिक र मंसीरमा पर्ने भएकाले व्यापारीहरूको खाताबाट ठूलो रकम बाहिरिने गर्छ।

यसका साथै, बैंकहरूले निक्षेपको ब्याजदर एकल अङ्कको तल्लो विन्दुमा झारेका कारण कतिपय ठूला निक्षेपकर्ताले घरजग्गा, सेयर बजार वा अन्य अनौपचारिक क्षेत्रमा रकम स्थानान्तरण गर्दा पनि निक्षेप संकलनमा चाप परेको विश्लेषण गरिएको छ।

असाेज मसान्तमा त्रैमासिक कर तिर्नुपर्नेहरूले कर तिर्छन् । याे पैसा बैंकमै जम्मा हुन्छ । बैंकहरूले पनि त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्नका लागि हिसाब-किताब मिलाउन नक्कली तरिकाले ऋण तिरेकाे र निक्षेप राखेकाे विवरणहरू तयार गर्ने हुँदा पनि तथ्यांकमा यस्ताे अस्वाभाविक थपघट देखिने बैंकरहरू बताउँछन् ।

नीतिगत लचकताको प्रभाव

नेपालको वित्तीय प्रणालीमा विगत चार वर्षयता अधिक तरलताको अवस्था कायम छ। आर्थिक शिथिलताका कारण निजी क्षेत्रको मनोबल कमजोर हुँदा विगतका वर्षहरूमा बैंकहरूले लक्ष्यअनुसार कर्जा विस्तार गर्न सकेका थिएनन्। प्रणालीमा पैसा थुप्रिएपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति तथा पहिलो त्रैमासिक समीक्षामार्फत कर्जा विस्तारलाई सहज बनाउन विभिन्न लचक नीतिहरू अख्तियार गरेको छ।

केन्द्रीय बैंकले नीतिगत दरहरू घटाउनुका साथै सेयर धितो कर्जा, घरजग्गा तथा सवारी कर्जामा रहेको कडाइ खुकुलो पारेको छ। चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा संशोधन गर्दै व्यवसायीलाई ऋण तिर्ने भाका र सीमामा सहुलियत दिइएको छ भने बैंकहरूको ब्याजदर पनि निकै सस्तो भइसकेको छ।

तथापि, यस्ता नीतिगत र प्रक्रियागत सहजिकरणका बाबजुद कर्जाकाे विस्तार भने अपेक्षा गरेजसरी हुन वा बढ्न सकेकाे छैन ।

लगानीयोग्य रकम अझै पर्याप्त

पछिल्लो समय निक्षेप केही घटे पनि बैंकहरूसँग लगानीयोग्य रकमको कुनै अभाव नरहेको तथ्याङ्कले पुष्टि गर्छ। मंसीर ४ गतेसम्म बैंकहरूको औसत कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ७०.५५ प्रतिशत मात्र छ। राष्ट्र बैंकले सीडी रेसियोको अधिकतम सीमा ९० प्रतिशत तोकेको हुँदा बैंकहरूसँग अझै खर्बौँ रूपैयाँ बराबरको लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको स्पष्ट हुन्छ।

हाल कायम रहेको ७६ खर्ब ९६ अर्ब रूपैयाँ कुल निक्षेपमध्ये नेपाली रूपैयाँमा ७४ खर्ब ३८ अर्ब र विदेशी मुद्रामा दुई खर्ब ५८ अर्ब रूपैयाँ छ। यस्तै, कुल ५४ खर्ब ३८ अर्ब रूपैयाँ कर्जामध्ये ५३ खर्ब ५० अर्ब स्थानीय मुद्रामा र ८८ अर्ब रूपैयाँ विदेशी मुद्रामा प्रवाह भएको बैंकर्स संघले जनाएको छ।