अब भारतमा पनि चल्नेछ नेपाली क्यूआर, प्रधानमन्त्रीको भ्रमणलगत्तै अघि बढ्यो प्रक्रिया
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलगत्तै नेपालको फोनपे र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको छलफलले आगामी एक महिनाभित्र नेपाली नागरिकले भारतमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने बाटो खोलेको छ ।
काठमाडौँ । नेपाली नागरिकले अब भारतमा गएर क्यूआर कोड स्क्यान गरी वस्तु तथा सेवाको भुक्तानी गर्न पाउने भएका छन् । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणलगत्तै नेपाल र भारतका भुक्तानी सेवा प्रदायक निकायहरूबीच आगामी एक महिनाभित्रै यो सेवा सञ्चालनमा ल्याउने समझदारी जुटेको हो ।
प्रधानमन्त्री शाह स्वदेश फर्किएलगत्तै सोमबार र मंगलबार नेपालको फोनपे र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) का अधिकारीहरूबीच सघन छलफल भएको थियो । मंगलबार सम्पन्न उक्त बैठकले आवश्यक प्राविधिक तथा नीतिगत प्रक्रिया पूरा गरी एक महिनाभित्र सेवा सुरु गर्ने लक्ष्य तय गरेको छलफलमा सहभागी एक अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाली टोलीले अन्तरदेशीय डिजिटल भुक्तानीको सहजताबारे चासो राखेपछि भारतीय पक्षले तत्कालै तत्परता देखाएको हो । ती अधिकारीका अनुसार दुवै देशतर्फ क्यूआर भुक्तानीका लागि आवश्यक प्राविधिक पूर्वाधार यसअघि नै तयार भइसकेको छ ।
प्रधानमन्त्रीको भ्रमणपछि भारतीय पक्ष निकै सकारात्मक देखिएको र पूर्वाधार तयार रहेकाले दुवै देशले औपचारिक सहमति जनाउनेबित्तिकै एक महिनाभित्रै सेवा सुचारु हुने सरकारी अधिकारीहरूले बताएका छन् ।
पुरानो सम्झौता कार्यान्वयनको चरणमा
नेपाल र भारतबीच डिजिटल भुक्तानी आदानप्रदान गर्ने सहमति भने यसअघि नै भएको थियो । विसं २०८० जेठमा तत्कालीन समयमा एनसीएचएलसँग व्यक्ति–व्यक्ति (पीटुपी) र फोनपेसँग व्यक्ति–व्यापारी (पीटुएम) भुक्तानी सुरु गर्ने सम्झौता एनपीसीआईसँग भएको थियो । जसअनुसार गत जेठमा परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भारतीय समकक्षी डा. एस जयशंकरसँगको समझदारीपछि अन्तरदेशीय व्यक्ति–व्यक्ति रेमिट्यान्स कारोबार सुरु भइसकेको छ ।
त्यतिबेला परराष्ट्रमन्त्री खनालले व्यापारीलाई भुक्तानी गर्ने अर्थात् क्यूआर सेवा दोस्रो चरणमा खुला गरिने बताएका थिए । हाल भारतीय नागरिकले नेपालमा आएर क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा भए पनि नेपाली नागरिकका लागि भारतमा यो सेवा खुलेको थिएन । अब फोनपे र एनपीसीआईबीचको सहमति कार्यान्वयनमा आएपछि नेपाली पर्यटक, विद्यार्थी र उपचारका लागि भारत जाने सर्वसाधारणलाई नगद बोक्नुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ ।
विदेशी विनिमय सञ्चितिलाई सन्तुलनमा राख्दै नेपालीले भारतमा डिजिटल माध्यमबाट रकम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाउन सकिने केन्द्रीय बैंकका एक अधिकारीले बताए ।
अहिले कसरी भइरहेको छ नेपाल–भारत वित्तीय कारोबार ?
हाल नेपाल र भारतबीच बैंक खाता, नगद र कार्डमार्फत सीमित दायरामा वित्तीय कारोबार भइरहेको छ । बैंकबाट बैंकमा सिधै रकम पठाउन नेपालका १२ वटा बैंक र भारतका १८ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् ।
यसअन्तर्गत मोबाइल बैंकिङ वा कनेक्ट आईपीएसमार्फत नेपालमा रहेका भारतीय नागरिकले प्रतिकारोबार १५ हजार र मासिक १ लाख भारुसम्म भारत पठाउन सक्छन् । त्यस्तै, भारतमा रहेका नेपाली तथा भारतीय नागरिकले नेपालको बैंक खातामा प्रतिकारोबार २ लाख भारुसम्म पठाउन पाउने व्यवस्था छ ।
नगद कारोबारतर्फ दुवै देशका नागरिकले ५ सय दरभन्दा साना नोट गरी अधिकतम २५ हजार रुपैयाँसम्म साथमा लैजान वा ल्याउन पाउँछन् । यसका अतिरिक्त नेपाली बैंकले जारी गरेका कार्डमार्फत भारतका एटीएमबाट दैनिक १५ हजार र मासिक १ लाख भारुसम्म नगद झिक्न सकिन्छ ।
भारतका अस्पताल, औषधि पसल र होटलको बिल तिर्दा कार्डबाट १० लाख रुपैयाँसम्मको भुक्तानीमा पूर्वअनुमति लिनुपर्दैन भने सोभन्दा बढी रकम तिर्नुपरेमा सम्बन्धित बैंकलाई अग्रिम जानकारी गराउनुपर्ने प्रावधान छ ।















