१० मंसिर २०८३, बिहिबार

एएचएफ नेपालद्वारा जनचेतना जगाउन विश्व एड्स दिवसको दिन सांगीतिक कन्सर्टको घोषणा



काठमाडौं। एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालले नक्सालस्थित होलिडे इन एक्सप्रेसको संगम स्वर्णिम हलमा आयोजित एक पत्रकार सम्मेलन मार्फत विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६ आयोजना गर्ने घोषणा गरेको छ। उक्त पत्रकार सम्मेलनमा विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरू, सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्वहरू र एएचएफका प्रतिनिधिहरूको उपस्थिति थियो ।

एएचएफका प्रतिनिधिहरूले आगामी सांगीतिक कन्सर्टको उद्देश्य र महत्वबारे जानकारी गराए । कार्यक्रमको व्यवस्थापन तथा सञ्चार समन्वयको कार्य मार्स एडभर्टाइजिङ एन्ड रिसर्च प्रालिले गरेको थियो। यहि डिसेम्बर १, २०२६ मा आयोजना हुने विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६ ले संगीत र मनोरञ्जनलाई अर्थपूर्ण सामाजिक सन्देशसँग जोड्दै, एचआईभी/एड्स सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने मञ्चका रुपमा यो कार्यक्रम रहने विश्वास राखेको छ।

सांगीतिक प्रस्तुतिहरूका साथै, यस कार्यक्रमले समयमै एचआईभी परीक्षण गर्न प्रोत्साहित गर्ने, उपचारको महत्वबारे जनचेतना फैलाउने र एचआईभी संक्रमित व्यक्तिहरूका लागि सहयोगी वातावरण निर्माण गर्न जोड दिनेछ। विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६ मा सहभागी हुनका लागि खल्ती एपमार्फत नि:शुल्क नाम दर्ता गर्न सकिनेछ। यसले इच्छुक सहभागीहरूलाई सहज रूपमा दर्ता प्रक्रिया पुरा गरी संगीत, जनचेतना र ऐक्यबद्धताको यो अर्थपूर्ण उत्सवमा सामेल हुन मद्दत पुर्‍याउनेछ।

यो पहलले एचआईभी/एड्ससँग जोडिएका सामाजिक लाञ्छना र भेदभाव विरुद्ध एकजुट हुनुपर्ने आवश्यकतामा पनि जोड दिन्छ । संगीत, जन–सहभागिता र चेतनामूलक गतिविधिहरू मार्फत, एएचएफ नेपालले खुला संवादलाई प्रोत्साहन गर्ने, गलत धारणाहरूलाई चिर्ने तथा थप सुसूचित र समावेशी समाज निर्माणका लागि सामूहिक जिम्मेवारीको भावना जगाउने लक्ष्य राखेको छ।

यो सांगीतिक कन्सर्टले कलाकार, दर्शक र आम समुदायलाई एकै ठाउँमा ल्याउनेछ । मनोरञ्जन, जनचेतना र पैरवीको सम्मिश्रण सहितको यस कार्यक्रम मार्फत विश्व एड्स दिवस मनाइनेछ।