१० मंसिर २०८३, बिहिबार

फोहोरबाट मोहर : ऊर्जा उत्पादनको परीक्षण सुरु, साझेदारीका लागि सबै पालिकालाई मन्त्रीको आग्रह



काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित फोहोर संकलन केन्द्रमा रहेको बायो–मिथेनेसन प्लान्टको पुनःनिर्माण गरी फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाको परीक्षण सुरु गरेको छ।

बिहीबार आयोजित एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले संयुक्त रूपमा उक्त प्लान्टको उद्घाटन गरेका हुन्।

करिब एक दशकअघि निर्माण भई केही समयमै बन्द भएको यो परियोजनालाई महानगरले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा पुनः सञ्चालनमा ल्याएको हो। यस परियोजनाको सफल परीक्षणसँगै कुहिने फोहोरको दिगो व्यवस्थापन हुनुका साथै नवीकरणीय ऊर्जा र जैविक मल उत्पादनको नीतिलाई कार्यान्वयनमा लैजान सहज हुने महानगरको अपेक्षा छ।

साझेदारीका लागि स्थानीय तहलाई ऊर्जामन्त्रीको आह्वान

उद्घाटन समारोहलाई सम्बोधन गर्दै ऊर्जामन्त्री श्रेष्ठले देशभरका ७५३ वटै स्थानीय तहलाई यस्ता ऊर्जा परियोजना अघि बढाउन आग्रह गरे। स्थानीय तहले समन्वय गरेमा यस्ता प्लान्ट निर्माणमा साझेदारी गर्न मन्त्रालय तयार रहेको उनले स्पष्ट पारे। ‘एलपीजी मुक्त स्थानीय सरकार’ बनाउने लक्ष्यअनुसार उत्पादित ग्यासको उपयोगका लागि विद्यमान नीतिगत अस्पष्टता हटाउन सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

संसद्मा दर्ता भइसकेको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा ग्यास वितरण र पाइपलाइनसम्बन्धी विषयलाई घनिभूत छलफल गरी नीतिगत रूपमै सम्बोधन गर्न सकिने मन्त्री श्रेष्ठले बताए। साथै, फोहोर व्यवस्थापनमा सरकारी निकायको प्रयास मात्र पर्याप्त नहुने भएकाले आम नागरिकको सचेतना र सक्रिय सहभागिता अनिवार्य रहेको उनले औँल्याए।

नीतिगत व्यवस्था आवश्यक

कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख डंगोलले प्लान्टबाट उत्पादित ग्यासलाई उपभोक्तासम्म कसरी पुर्‍याउने भन्ने स्पष्ट नीति अझै नबनेको भन्दै चिन्ता व्यक्त गरिन्। परीक्षण सफल भएर ग्यास उत्पादन थालिएपछि वितरणमा अन्योल सिर्जना हुन सक्ने भएकाले सिलिन्डरसँगै पाइपलाइनमार्फत ग्यास वितरण गर्ने स्पष्ट नीति तत्काल ल्याउन उनले सरकारसँग आग्रह गरिन्।

फोहोरलाई मोहरमा बदल्ने तथा ‘वेस्ट टु इनर्जी’ र ‘वेस्ट टु इकोनोमी’ को अवधारणालाई सार्थक बनाउन छुट्टै नीतिगत व्यवस्थाको खाँचो रहेको डंगोलले बताइन्। यस परीक्षणसँगै टेकुको यो प्लान्टबाट जैविक ग्यास र प्राङ्गारिक मल उत्पादन गरी काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ आयाम थपिने विश्वास लिइएको छ।