११ मंसिर २०८३, शुक्रबार

अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक



काठमाडौँ।अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब तान्दै छ। राष्ट्र बैंकले ६१ दिन अवधिका लागि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको हो।

केन्द्रीय बैंकका अनुसार मंसिर ११ गते दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल पेस गर्न सकिनेछ। यसको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट तय हुनेछ भने साँवा र ब्याजको भुक्तानी आगामी माघ १३ गते गरिनेछ।

यो बोलकबोलमा राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी मात्र सहभागी हुन पाउनेछन्। इच्छुक संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ४० अर्ब रुपैयाँसम्मको आवेदन दिन सक्नेछन्, जसको रकम १० करोड रुपैयाँले निःशेष भाग जाने हुनुपर्ने व्यवस्था गरिएको छ।

निक्षेप बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर कबोल गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। एउटै ब्याजदरमा कुल आह्वान रकमभन्दा बढी प्रस्ताव परेमा समानुपातिक आधारमा वितरण गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ। साथै, परिपक्व अवधि (माघ १३) अगावै यो निक्षेप फिर्ता लिन नमिल्ने व्यवस्था छ।