आयकर ऐन संशोधनको तयारीमा सरकार, लगानीको वातावरण सुधार्दै कर प्रणालीलाई पारदर्शी बनाइने
काठमाडौं। नीतिगत अस्थिरता र कर प्रशासनिक झन्झटका कारण संकुचित बनेको निजी तथा वैदेशिक लगानीलाई चलायमान बनाउन सरकारले कानुनी सुधारको प्रक्रिया अघि बढाएको छ । आर्थिक गतिविधि विस्तार र कर प्रणालीलाई पारदर्शी बनाउने उद्देश्यसहित सरकारले आयकर ऐन, २०५८ का विभिन्न ३० वटा प्रावधानमा परिमार्जन गर्ने गृहकार्य थालेको हो ।
पूर्वाधार विकास र लगानीमार्फत अर्थतन्त्रमा सुधार ल्याउन अध्यादेशमार्फत ६३ वटा ऐनका ५०० भन्दा बढी दफा संशोधन गर्ने बृहत् योजनाअन्तर्गत आयकर ऐनको मस्यौदा तयार पारिएको छ । मस्यौदाको मुख्य आकर्षण करसम्बन्धी नीतिगत निश्चितता हो ।
प्रस्तावित व्यवस्था लागू भएमा करको दर वृद्धि गर्ने, नयाँ दायित्व सिर्जना गर्ने वा कर सुविधा कटौती गर्ने कानुनी संशोधनहरू सोभन्दा अघिको कारोबार तथा आर्जित आयमा प्रभावी हुने छैनन् । यसबाट पुराना कारोबारमा भविष्यमा अतिरिक्त कर भार थोपरिने त्रासबाट लगानीकर्ताले मुक्ति पाउनेछन् ।
वैदेशिक लगानी र ऋण पुँजीकरणमा सहजता
विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउने लक्ष्यसहित वैदेशिक लगानीसँग जोडिएका लाभांश, ब्याज, रोयल्टी, सेयर हस्तान्तरण, स्थायी संस्थापन र दोहोरो कराधान मुक्ति सम्झौताका विवरणहरू एउटै डिजिटल पोर्टलमार्फत सार्वजनिक र अद्यावधिक गरिनेछ ।
त्यस्तै, कानुनी प्रक्रिया पूरा गरी लिइएको वैदेशिक ऋणको बाँकी साँवालाई सेयरमा रूपान्तरण गर्दा सम्बन्धित कम्पनीको करयोग्य आय गणना नहुने प्रस्ताव गरिएको छ। यसले विदेशी ऋणमा सञ्चालित उद्योगहरूलाई पुँजी व्यवस्थापन गर्न सघाउ पुर्याउनेछ।
यसैगरी नयाँ लगानीका क्षेत्र विस्तार गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त विशिष्टीकृत लगानी कोषहरूको आयमा कोषकै तहमा कर नलगाई इकाईधनीको आर्थिक स्वामित्वका आधारमा कर गणना गर्ने र प्रतिफल वितरण गर्दा पुनः कर कट्टी गर्न नपर्ने व्यवस्था प्रस्तावित छ ।
साथै व्यवसाय गाभ्ने तथा प्राप्ति गर्ने (मर्जर तथा एक्विजिसन) प्रक्रियालाई करमैत्री बनाउँदै स्वीकृत मर्जरमा सेयरधनीले पुरानो सेयरको सट्टा अर्को संस्थाको सेयर मात्र प्राप्त गरेमा त्यसलाई तत्काल सम्पत्ति बिक्री मानेर कर नलगाइने प्रस्ताव गरिएको छ ।
डिजिटल कर प्रशासन र स्वतन्त्र पुनरावलोकन संयन्त्र बनाइने
करदातालाई प्रशासनिक सास्तीबाट जोगाउन मस्यौदामा कर फिर्ता र पुनरावलोकन प्रक्रियालाई निकै सरल बनाइएको छ । कर कार्यालयको अभिलेखबाट बढी कर तिरिएको देखिएमा करदाताले छुट्टै निवेदन नदिए पनि आय विवरण बुझाएको ३० दिनभित्र प्रमाणित बैंक खातामा रकम फिर्ता पठाइनेछ र ढिलाइ भएमा सरकारले ब्याजसमेत तिर्नुपर्नेछ । साथै, कर निर्धारणमा चित्त नबुझ्ने करदाताको गुनासो सुन्न अर्थ मन्त्रालय मातहत एक स्वतन्त्र प्रशासकीय पुनरावलोकन इकाई गठन गरिनेछ, जसले निवेदन परेको ६० दिनभित्रै फैसला गरिसक्नुपर्नेछ ।
करका सम्पूर्ण सेवा एकीकृत अनलाइन प्रणालीबाट दिइने र सरकारी प्रणालीमा प्राविधिक गडबडी आएर समयमा कर बुझाउन नसकेमा करदातालाई कुनै जरिवाना वा विलम्ब शुल्क नलाग्ने व्यवस्था पनि मस्यौदामा छ ।
प्रस्तावित यी कानुनी परिमार्जनले कर प्रशासनमा पारदर्शिता ल्याउनुका साथै लगानीकर्ताको मनोबल उच्च बनाउने अपेक्षा गरिएको छ । तथापि, कर सुधारका अतिरिक्त नीतिगत स्थायित्व, चुस्त प्रशासन, भरपर्दो पूर्वाधार र लगानी सुरक्षाको व्यावहारिक प्रत्याभूति हुन सकेमात्रै मुलुकमा अपेक्षित निजी तथा विदेशी पुँजी भित्रिन सक्नेछ ।

















