११ मंसिर २०८३, शुक्रबार

अर्घाखाँची सिमेन्टको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सफलतापूर्वक सम्पन्न



काठमाडौं । अर्घाखाँची सिमेन्टले आफ्ना उत्कृष्ट डिलरहरूका लागि आयोजना गरेको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सफलतापूर्वक सम्पन्न गरेको छ। गत जेठ तथा असार महिनामा सञ्चालन गरिएको विशेष डिलर प्रोत्साहन योजनाअन्तर्गत निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल डिलरहरूलाई यस यात्रामा सहभागी गराइएको थियो।

तीन दिनसम्म सञ्चालन भएको उक्त यात्राका क्रममा सहभागी डिलरहरूले मुक्तिनाथ, कागबेनीलगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गरेका थिए। यात्राले सहभागीहरूलाई धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र आपसी सद्भावसँगै रमाइलो तथा अविस्मरणीय अनुभव प्रदान गरेको थियो।

अर्घाखाँची सिमेन्टले आफ्ना व्यावसायिक साझेदारहरूको योगदानको सम्मान गर्दै उनीहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यस्ता प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कम्पनीका लागि डिलरहरू केवल व्यावसायिक साझेदार मात्र नभई गुणस्तरीय उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने महत्वपूर्ण सहयात्री हुन्।

नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनीमध्ये एक अर्घाखाँची सिमेन्टले गुणस्तर, नवीनता र दिगोपनलाई प्राथमिकतामा राख्दै आफ्नो उत्पादन तथा सेवा विस्तार गर्दै आएको छ। वार्षिक एक मिलियन टन उत्पादन क्षमता रहेको कम्पनीले आधुनिक उत्पादन प्रविधि, गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन र वातावरणमैत्री अभ्यासमार्फत निर्माण क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ।

कम्पनीले डेनिस भर्टिकल रोलर मिल (VRM) प्रविधि तथा वेस्ट हिट रिकभरी सिस्टम (WHRS) जस्ता आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादन क्षमता र ऊर्जा दक्षता अभिवृद्धि गरेको छ। साथै, धुलो नियन्त्रणका लागि इलेक्ट्रोस्ट्याटिक प्रिसिपिटेटर (ESP) प्रणालीको प्रयोगमार्फत स्वच्छ तथा सुरक्षित कार्य वातावरण कायम गर्न प्रतिबद्ध रहेको छ।

‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ ले अर्घाखाँची सिमेन्ट र उसका डिलरहरूबीचको व्यावसायिक सहकार्यलाई थप आत्मीय र विश्वासपूर्ण बनाएको कम्पनीको विश्वास छ। आगामी दिनमा पनि कम्पनीले आफ्ना व्यावसायिक साझेदारहरूसँगको सम्बन्धलाई प्राथमिकता दिँदै सहकार्य, सम्मान र साझा सफलताका कार्यक्रमहरूलाई निरन्तरता दिनेछ।