महानगरले आफ्नो नागरिकका घर लगायत सम्पत्तिहरुको बीमा गराउनका लागि पहल गर्नुपर्छः अध्यक्ष सिलवाल
महानगरले आफ्नो नागरिकका घर लगायत सम्पत्तिहरुको बीमा गराउनका लागि पहल गर्नुपर्छः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गराउनका लागि पहल गर्न महानगरपालिकासँग आग्रह गरेका छन् ।
नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयको आयोजनामा कास्की जिल्लाको पोखरा महानगरपालिकामा फागुन ८ गते सोमबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन ।
कार्यक्रममा अध्यक्ष सिलवालले आर्थिकरुपले सम्पन्न व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्न र विपन्न बर्ग पहिचान गरी बीमा गर्नका लागि आर्थिक सहायताको व्यवस्था गर्न पनि आग्रह गरे ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेबी गुरुङले बीमा दाबी भुक्तानीमा देखिएका समस्या समाधान गरी दाबी भुक्तानीलाई सरल बनाउन र बीमा सम्बन्धी नीति तथा कार्यक्रम तर्जूमामा महानगरलाई सहयोग गर्न प्राधिकरण सँग आग्रह गरे ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानी स्थानीयस्तरमा नै छिटोभन्दा छिटो गर्ने व्यवस्था गर्न प्राधिकरणले बीमा कम्पनीहरुलाई निर्देशन दिँदै आएको जानकारी दिए । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले महागरभित्रका घर लगायतका सम्पत्तिको बीमा गराउनका लागि महानगरपालिकाले पहल गर्ने बताए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी) ले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए । कार्यक्रममा सहभागीहरुले बीमा दाबी भुक्तानी प्रक्रिया जटिल रहेको, बीमा कम्पनीबाट दाबी भुक्तानी पहुँचवालाले सहजै पाउने तर सामान्य नागरिकले दाबी भुक्तानी पाउन कठिन हुने गरेको, सरकार र महानगरपालिकाको अनुदानमा गरिएको कृषि तथा पशुपन्छीको बीमा दाबी भुक्तानी नहुने गरेको, हुँदै नभएको बाली र पशुको समेत बीमा गर्ने गरेको, बीमा कम्पनीले कम दाबी भुक्तानी दिने गरेको लगायतका गुनासाहरु राख्नुभएको थियो ।
नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद दाहालले संचालन गर्नुभएको कार्यक्रममा पोखरा महानगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारी, नेपाल बीमक संघका महासचिव अशोक कुमार खड्का, एल.आई.सी. नेपालका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक केदारनाथ भट्ट, नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी, पोखरा च्याप्टरका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता लगायतको सहभागिता रहेको थियो ।













