१० श्रावण २०८३, आइतबार

राष्ट्रिय बीमा संस्थान ५६औं बर्षमा प्रवेश, जोखिमलाई न्यूनीकरण गर्दै आर्थिक सुरक्षाको सुनिश्चितता गर्ने प्रतिवद्धता

राष्ट्रिय बीमा संस्थान ५६औं बर्षमा प्रवेश, जोखिमलाई न्यूनीकरण गर्दै आर्थिक सुरक्षाको सुनिश्चितता गर्ने प्रतिवद्धता



काठमाडौं । बीमा सेवा प्रदायकको रुपमा सरकारी स्वामित्वमा स्थापित राष्ट्रिय बीमा संस्थान सफलताका साथ आजबाट ५५ बर्ष पूरा गरी ५६ औं बर्षमा प्रवेश गरेको छ ।

नेपालको बीमा बजारमा जीवन बीमाको आवश्यकता र महत्वलाई जनमानसमा बोध गराउँदै नेपाली जनताको आर्थिक सुरक्षाको सुनिश्चितता गर्न, जीवन बीमाको माध्यमबाट बीमाको पहुँच बृद्धि गर्न तथा वित्तीय श्रोतको परिचालन गरी अर्थतन्त्रको सुदृढीकरण गर्न संस्थानले सशक्त भूमिका निर्वाह गर्दै आएको छ । संस्थानले आ.व. २०७९÷८० को दोश्रो त्रैमासिकसम्ममा कुल बीमालेख संख्या ५ लाख ६० हजार, बीमाशुल्क ६ अर्व १५ करोड, दाबी भुक्तानी १ अर्व ५८ करोड, लगानीमा आय १ अर्ब ८६ करोड, व्यवस्थापन खर्च १५ करोड, बचत ७ अर्व १८ करोड र बीमा कोष ४५ अर्व ९१ करोड रुपैयाँ रहेको छ ।

देशको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न तथा बिदेशी मुद्राको व्ययभार रोक्नको लागि वि.सं. २०२४ पौष १ गते राष्ट्रिय बीमा संस्थान प्रा.लि.को स्थापना भएको हो । स्थापनाको एक बर्ष पश्चात राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ जारी भए पछि वि.सं.२०२५ पौष १ गते देखि राष्ट्रिय बीमा संस्थानमा परिणत भएको हो । वि.सं.२०२४ फाल्गुण ११ गते देखि निर्जीवन बीमा व्यवसायको पहिलो कारोवार शुरु गरेको संस्थानले वि.सं. २०२९ साल फाल्गुण ७ गतेदेखि जीवन बीमा व्यवसायको कारोवार समेत सञ्चालन गरेको हो । नेपालमा पहिलो जीवन बीमा सेवा प्रदायकको इतिहास बनाएको संस्थान बीमा बजारमा उल्लेखनीय उपस्थिति देखाउँदै सफलताको साथ ५५ औं बसन्त पूरा गरी ५६ औं बसन्तमा प्रवेश गरेको छ ।
जोखिम व्यवस्थापनको सर्वोत्तम उपाय मानिने “बीमा” लाई नेपाली जनमानसमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको संस्थान “बीमाको क्षेत्रमा विश्वसनीय नाम” ले परिचित छ । मानिसको जीवनमा आइपर्ने जोखिमलाई न्यूनीकरण गर्दै आर्थिक सुरक्षाको सुनिश्चितता मार्फत गुणस्तरीय जीवनशैली प्रत्याभूत गर्न संस्थान सफल रहेको छ । संस्थानले छरिएर रहेको सानो सानो बचतलाई बीमाको माध्यमबाट संकलन गरी पूँजी निर्माण गर्दै राष्ट्रिय गौरवको आयोजनामा लगानी गरी राष्ट्र निर्माणमा समेत योगदान गरेको छ ।

१. दुरदृष्टि
विश्वसनीय र पहिलो रोजाईको बीमा प्रदायकको रुपमा स्थापित हुने ।
२. ध्येय
जनविश्वास प्राप्त व्यवस्थित र सक्षम संस्थाको रुपमा स्थापित हुने ।
३. उद्धेश्य
क) बीमाको पहुँचमा बृद्धि गर्दै व्यवसायमा विस्तार गर्ने ।
ख) सरल र सुलभ सेवा उपलब्ध गराउने ।
ग) प्रविधिको उच्चतम प्रयोगबाट बीमा बजारमा संस्थाप्रति रहेको विश्वास अभिबृद्धि गर्ने ।
घ) बीमाको बारेमा सचेतना फैल्याउने ।

४. संस्थानको पूँजी संरचना र सञ्चालक समिति
संस्थानको पूँजी संरचनामा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडको संस्थापक शेयर स्वामित्व क्रमशः २७.७८ प्रतिशत, ५५.५५ प्रतिशत र १६.६७ प्रतिशत रहेको छ ।

राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ को दफा ६ बमोजिम संस्थानमा सात जनासम्मको सञ्चालक समिति रहने व्यवस्था छ । अध्यक्ष लगायत बहुमत सञ्चालकहरुको नियुक्ति नेपाल सरकारले गर्ने र बाँकी सञ्चालकहरु शेयरधनीहरुद्धारा नियुक्त गर्ने व्यवस्था रहेको छ ।

संस्थानको सञ्चालक समितिको अध्यक्षमा श्री ईश्वर पौडेल तथा सदस्यहरुमा नेपाल सरकारबाट श्री रन्जन कृष्ण अर्याल र श्री अरुण पोख्रेल, नेपाल राष्ट्र बैंकबाट श्री राम प्रसाद गौतम, नेपाल बैंक लिमिटेडबाट श्री होम बहादुर खड्का, नेपाल सरकारबाट नियुक्त प्रशासक श्री कवि प्रसाद पाठक र सहायक प्रशासक श्री कृष्ण कुमार श्रेष्ठ रहनु भएको छ ।

५. नेपालको बीमा बजारमा संस्थानको उपस्थिति
संस्थानले चालू आर्थिक वर्षको दोश्रो त्रैमासिक सम्ममा ४५ अर्ब ९१ करोड जीवन बीमा कोष कायम गरेको छ । चालु आर्थिक वर्षको श्रावण देखि पौष मसान्त सम्ममा जीवन बीमा प्रदायकहरुको संकलित बीमाशुल्क ७१ अर्ब ६५ करोड रहेकोमा राष्ट्रिय बीमा संस्थानले ६ अर्ब १५ करोड संकलन गरी बीमाशुल्क संकलनमा चौथो स्थानमा रहन सफल यस संस्थाको बजार हिस्सा ८.५८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० पौष मसान्तसम्म कूल बीमालेख संख्या १,४१,०९,१५० रहेकोमा संस्थानमा ५ लाख ६० हजार बीमालेखहरु सक्रिय रहेका छन् ।

६. संस्थानका बीमा योजनाहरु
राष्ट्रिय बीमा संस्थानले आम नागरिकहरुलाई बीमाको दायरामा समेट्ने गरी विभिन्न बीमालेखहरु सञ्चालनमा ल्याएको छ । हाल सञ्चालित बीमा योजनाहरु निम्नानुसार रहेका छन् ः
क) सावधिक जीवन बीमा योजना
ख) बालबच्चाको शिक्षा र विवाह सावधिक जीवन बीमा
ग) अग्रिम भुक्तानी जीवन बीमा
घ) आजीवन जीवन बीमा
ङ) बालबच्चाको जीवन बीमालेख “वात्सल्य”
च) पति पत्नीको संयुक्त जीवन बीमा “जीवन साथी”
छ) “जीवन सुरक्षा” सावधिक जीवन बीमा
ज) “बालउमङ्ग” जीवन बीमा
झ) “जीवन बन्धु” दोहारो लाभ जीवन बीमा
ञ) हाम्रो जीवन बीमा (म्यादी जीवन बीमा)
ट) मेरोे जीवन बीमा (म्यादी जीवन बीमा)
ठ) सामूहिक सावधिक जीवन बीमा
ड) राष्ट्र सेवक सावधिक जीवन बीमा

७. गुणस्तरीय र प्रविधिमैत्री ग्राहक सेवा
जीवन बीमाको माध्यमबाट ग्राहकहरुलाई बचत तथा लगानीका विभिन्न योजनामा सहभागी गराउँदै जीवनस्तरलाई गुणस्तरीय बनाउन जोखिम व्यवस्थापन गर्नु संस्थानको प्रमुख काम हो । प्रभावकारी सेवा प्रवाहबाट मात्र संस्थानले लक्ष्य अनुसारको काम गर्न सक्छ । छिटोछरितो, सहज, गुणस्तरीय र विश्वसनीय सेवा प्रवाहबाट ग्राहकलाई सन्तुष्ट बनाउन सकिन्छ । सन्तुष्ट ग्राहकहरु संस्थानको व्यवसायको महत्वपूर्ण हिस्सा हुन् । ग्राहकहरुकोे विश्वास महत्वपूर्ण मार्गदर्शन हो । सेवा प्रवाहलाई गुणस्तरीय बनाउन प्रविधिको प्रयोग जरुरी हुन्छ । समय सापेक्ष ग्राहक सेवाको पहुँच तथा आधुनिकीकरणका लागि एकीकृत सफ्टवेयर खरीद गरी प्रयोगमा ल्याइएको छ । संस्थानको वेवसाइटमा आवश्यक परिमार्जन गरिएको छ भने बीमितहरुलाई बीमालेख स्वीकृत भई प्रथम एवम् नवीकरण बीमाशुल्क भुक्तानी गरेकै बखत जानकारी प्राप्त हुने गरी एस. एम. एस. अलर्ट सेवा उपलव्ध गराइएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त डिजिटल भुक्तानी सेवा प्रदायकहरु Connect IPS, E-SEWA र KHALTI मार्फत बीमाशुल्क संकलन गर्ने व्यवस्था गरिएको छ । साथै संस्थानको प्रधान कार्यालयमा नेपाल बैंकको QR Code मार्फत समेत बीमाशुल्क संकलन कार्य यही महिनाबाट सुरु गरिनेछ ।

८. शाखा कार्यालयको विस्तार
नेपाली जीवन बीमा बजारमा आफ्नो हिस्सा बढाउँदै लाने कार्यमा संस्थान प्रयत्नरत छ । कार्यक्षेत्र विस्तारको माध्यमबाट संस्थानले आफ्नो व्यवसाय विस्तार गर्ने लक्ष्य लिएको छ । यसको लागि शाखा विस्तारलाई प्राथमिकतामा राखेको छ । देशको सातवटै प्रदेशमा संस्थानको २३ वटा शाखा कार्यालयहरु स्थापना गरी ती शाखा र अभिकर्ताहरुको संयुक्त प्रयासद्वारा ग्राहकहरुको घर दैलोमा पुगी जीवन बीमा सेवा पु–याउँदै आएको छ ।

९. अभिकर्ता परिचालन
अभिकर्ताहरुको माध्यमबाट सामान्य जनतामा बीमा चेतनाको विकास गरी बीमा सेवालाई सर्वसाधारणसम्म पु¥याउन महत्वपूर्ण योगदान पुगेको छ । संस्थानका देशभर छरिएर रहेका क्रियाशिल अभिकर्ताहरुको सक्रिय योगदानले संस्थानलाई आजको स्थितिसम्म ल्याइ पु¥याउन उल्लेखनीय भूमिका खेलेको छ । संस्थानका सम्पूर्ण शाखाहरुलाई अभिकर्ता उत्पादन र परिचालनमा सक्रियतापूर्वक सहभागी गराउन तालिमको संख्या, प्रशिक्षार्थी संख्या र प्रथम बीमाशुल्क संकलन लक्ष्य निर्धारण गरी कार्यान्वयन गरिएको छ । आगामी दिनमा अभिकर्ताहरुको सहभागिता र सक्रियतामा बृद्धि भई संस्थानको व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ ।

१०. संस्थानको वित्तीय श्रोत
संस्थापकहरुबाट लगानी गरिएको शेयर पूँजी, जीवन बीमा व्यवसाय सञ्चालन गर्ने सिलसिलामा प्राप्त हुन आएको बीमाशुल्क, जीवन बीमा कोषमा भएको रकम लगानीबाट प्राप्त प्रतिफल, बीमालेखको सुरक्षणमा प्रवाहित कर्जाबाट प्राप्त व्याज र पुनर्बीमा कमिसन संस्थानका प्रमुख वित्तीय श्रोतहरु हुन् ।

११. लगानी व्यवस्थापन
लगानी व्यवस्थापन जीवन बीमा प्रदायकहरुको अर्को महत्वपूर्ण काम हो । बीमाशुल्कको रुपमा उपलव्ध वित्तीय श्रोतलाई नेपाल सरकार, नेपाल बीमा प्राधिकरण तथा नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिएका क्षेत्रहरुमा विद्यमान ऐन, नियम, नीति तथा निर्देशिकाको परिधिभित्र रही विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, शेयर र डिबेन्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी संस्थानले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको छ । जीवन बीमालेखको धितोमा दिइएको कर्जाबाट समेत उल्लेख्य प्रतिफल प्राप्त हुँदै आएको छ । सरकारबाट प्राथमिकता प्राप्त क्षेत्रहरुमा आफ्नो श्रोतको उपयोग गर्ने सिलसिलामा माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा रु.२१ करोड १८ लाख शेयर पूँजी (हालको बजार पूजीकरण रकम रु १ अर्व ६ करोड) लगानी रहेको छ । ऋण लगानी २ अर्व ८० करोड गरेकोमा ब्याज पूँजीकरण सहित हाल ४ अर्ब ८८ करोड रहेको छ । हाल यो लगानीको व्याज तथा सावाँको किस्ता प्राप्त भइरहेको छ । जलविद्यूत लगानी तथा विकास कम्पनी लि.मा १ अर्व शेयर लगानी (हालको बजार पूजीकरण रकम रु १ अर्ब २० करोड) गरिएको छ । विद्यूत उत्पादन कम्पनी लि.मा ६ करोड ६० लाखको संस्थापक शेयर लगानी गरिएको छ । नागरिक लगानी कोषमा कुल शेयर पूँजी मध्ये संस्थानको ३१.५ प्रतिशत स्वामित्व रहेको छ । यसको अतिरिक्त सनराइज बैंक लि., नेपाल इन्भेष्टमेण्ट बैंक लि., लक्ष्मी बैंक लि., ग्लोवल आइ एम इ बैंक लि., एन आई सी एशिया बैंक लि. तथा नेपाल पुनर्बीमा कम्पनी लि. जस्ता देशका महत्वपूर्ण वित्तीय संस्थामा संस्थानको संस्थापक तथा साधारण शेयर रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा रु. ३० अर्ब २० करोड तथा डिबेञ्चरमा रु. ५ अर्ब १० करोड लगानी रहेको छ ।

१२. नेपालमै पुनर्बीमा
संस्थानले आफ्नो जीवन बीमा व्यवसायको अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुसँग गरिने पुनर्बीमालाई देश भित्रै स्थापित नेपाल पुनर्बीमा कं. लि. संग पुनर्बीमा गरी विदेशी विनिमय सञ्चितिमा अनुकुल प्रभाव पार्ने प्रयास गरेको छ । यसको साथै पुनर्बीमाको केही हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीसँग समेत गर्दै आएको छ ।

१३. सामूहिक जीवन बीमा योजना
संस्थानले देशका प्रमुख सार्वजनिक संस्थान, बैँक तथा औद्योगिक प्रतिष्ठानहरुमा कार्यरत कर्मचारीहरुको सामूहिक जीवन बीमा गर्दै आएको छ । साथै राष्ट्र सेवकहरुको लागि सावधिक जीवन बीमा योजना सञ्चालन गरेको छ । यस योजनाबाट ३ लाख भन्दा बढी राष्ट्र सेवक कर्मचारीहरुले जीवन बीमा सेवा प्राप्त गरेका छन् भने संस्थानको व्यवसायमा पनि विस्तार हुन पुगेको छ ।

१४. लेखापरीक्षण र साधारणसभा
लेखापरीक्षण संस्थागत सुशासनको अनिवार्य अंग हो । यसले लगानीकर्ता लगायत अन्य सरोकारवालाहरुलाई व्यवसाय प्रति आश्वस्त बनाउनुका साथै बजारमा संस्थानको छबि निर्माणमा महत्वपूर्ण भूमिका खेल्दछ । यस विषयमा संस्थान संवेदनशील रहेको छ र विगतदेखि समस्याको रुपमा रहिआएको लेखापरीक्षण र साधारणसभा सम्वन्धी विषयहरुलाई नियामक निकाय लगायत अन्य सरोकारवालाहरुको सहयोगमा निष्कर्षमा पु¥याउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०७१।७२ सम्मको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) मा पेश गरिएको छ । आर्थिक वर्ष २०७२।७३ देखि २०७५।७६ सम्मको बाह्य लेखापरीक्षकद्वारा लेखापरीक्षण गरी अन्तिम प्रतिवेदन प्राप्त हुने क्रममा रहेको छ । हाल संस्थानको आन्तरिक लेखापरीक्षण नियमित रुपमा भइरहेको जानकारी गराउँदछौँ । लेखापरीक्षण कार्य सम्पन्न गर्नु अगाडी जीवन बीमा सेवा प्रदायक संस्थाले बीमाङ्कीय मूल्याङ्कन कार्य सम्पन्न गर्नु पर्ने भएकोले उक्त कार्य उच्च प्राथमिकताका साथ भईरहेको छ । संस्थानले हाल आइ.एस. अडिट समेत नियमित रुपमा गर्दै आएको छ ।

१५. संस्थानको अचल सम्पत्ति
संस्थानको आर्थिक स्थितिको लेखा जोखा यसको कारोवार, तरलता, विश्वसनीयताका साथै स्थिर सम्पति जस्ता वस्तुहरुले निर्दिष्ट गरेका मुल्याङ्कनका आधारमा हुन्छ । संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संयुक्त स्वामित्वमा काठमाण्डौको रामशाहपथमा १५ रोपनी जग्गामा २ वटा भवन रहेका छन् ।

१६. पूँजी बृद्धि योजना
नेपाल बीमा प्राधिकरणद्वारा जारी गरिएको निर्देशन बमोजिम जीवन बीमा व्यवसाय गर्ने संस्थाको चुक्ता पूँजी ५ अर्ब हुनु पर्नेछ । संस्थानको हाल चुक्ता पूँजी १८ करोड १० लाख २० हजार मात्र रहेकोले तोकिए बमोजिमको पूँजी पु¥याउन संस्थानले पूँजी वृद्धि योजना तर्जुमा गरी संस्थापकहरुलाई पूँजी थप गर्नको लागि पत्राचार गरिसकेको छ । संस्थानको पूँजी संरचनामा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण सेयर रहने गरी पूँजी वृद्धि योजना नेपाल बीमा प्राधिकरणमा पेश गरिएको छ ।

१७. संगठन तथा व्यवस्थापन
संस्थानको विद्यमान संगठन तथा व्यवस्थापनलाई समय सापेक्ष बनाउन नयाँ संगठन तथा व्यवस्थापन सर्भेको कार्य काठमाडौं विश्वविद्यालयको सहयोगमा सम्पन्न गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरिएको छ ।

१८. नियमावली, निर्देशिका ÷कार्यविधि सम्बन्धमा
संस्थानको कर्मचारी नियमावली सम्मानित सर्वोच्च अदालतबाट खारेज भए पश्चात आवश्यक परिमार्जन गरी स्वीकृतार्थ श्री नेपाल सरकार, अर्थ मन्त्रालयमा पेश गरिएको छ । संस्थानले दाबी फछ्र्यौट कार्यविधि, अन्डरराइटिङ कार्यविधि, सम्पति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी कार्यविधि, पुनर्बीमा नीति÷कार्यविधि, सूचना प्रविधि नीति, हाजिरी म्यानुअल, संचालक समितिको बैठक संचालन सम्बन्धी कार्यविधि, विज्ञापन निर्देशिका आदि तर्जुमा तथा परिमार्जन गरी कार्यान्वयनमा ल्याएको छ ।

१९. संस्थानको भावी योजना
क) चालु आर्थिक वर्षको अन्तसम्ममा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई लेखापरीक्षण र बीमाङ्कीय मुल्याङ्कन सम्पन्न भइसकेको अवधिको साधारण सभा सम्पन्न गर्ने । साथै बाँकी अवधिका लेखापरीक्षण र बीमाङ्कीय मुल्याङ्कनको कार्य सम्पन्न गर्ने ।
ख) तोकिए बमोजिमको पूँजी कायम गरी संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने ।पुरानो हिसाव
ग) भिडान गरी फछ्र्यौट गर्ने ।
घ) संस्थानको Due Diligence Audit (DDA) गर्ने ।
च) योजनावद्ध प्रयासबाट संस्थानको समग्र पक्षमा सुधार ल्याउँदै व्यवसाय विस्तार गर्ने ।
छ) अनुकुल व्यावसायिक वातावरण निर्माण गर्न संगठन संरचना, पुर्वाधार तथा ले–आउटमा आवश्यक परिमार्जन गर्ने ।
ज) एकीकृत सफ्टवेयर मार्फत हुने बीमाशुल्क संकलन र दाबी भुक्तानीको कारोवारलाई अनलाइन माध्यमबाट गरी थप व्यवस्थित गर्ने ।
झ) अभिकर्ताको तालिमलाई उच्च प्राथमिकता दिई नयाँ अभिकर्ता तयार गर्ने र कार्यरत अभिकर्ताहरुको लागि पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्ने ।
ञ) जीवन बीमा व्यवसायमा नयाँ क्षेत्रहरुको पहिचान गरी सञ्चालनमा रहेका बीमा योजनाहरुको पुनरावलोकन गर्ने र नयाँ योजनाहरु सञ्चालनमा ल्याइने ।
ट) संस्थानको दीर्घकालीन रणनीतिक योजना तर्जुमा गर्ने ।
ठ) कार्यविधि तथा निर्देशिकाहरुमा समय सापेक्ष सुधार गर्ने तथा आवश्यक्ता अनुसार नयाँ कार्यविधिहरु तर्जुमा गर्ने ।
ड) संस्थानको सेवालाई छिटो, छरितो र गुणस्तरीय बनाउने ।
ढ) संस्थानको जीवन बीमा कोषलाई न्यून जोखिम तथा उच्च प्रतिफल प्राप्त हुने नयाँ लगानीको क्षेत्र पहिचान गरी लगानीलाई विविधिकरण गर्ने ।
ण) लामो समय देखि बाँकी रहेको जग्गाको नामसारीको कार्य सम्पन्न गर्ने ।
त) सरोकारवाला पक्षसँग अन्तरक्रिया गर्ने ।
थ) संस्थानको खरिद नियमावली स्वीकृत गराइ कार्यान्वयन गर्ने ।