१० श्रावण २०८३, आइतबार

‘सेवामुखी हुन र बीमा प्रतिको विश्वसनीयता बढ्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई आग्रह’

‘सेवामुखी हुन र बीमा प्रतिको विश्वसनीयता बढ्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई आग्रह’



काठमाडौं। व्यास नगरपालिकामा प्रमुख अतिथि बैकुण्ठ न्यौपानेले सेवामुखी हुन र बीमा प्रतिको विश्वसनीयता बढ्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई आग्रह गरेका छन् । तनहुँको व्यास र लमजुङको मध्य नेपाल नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन १० गते गण्डकी प्रदेशका तनहुँ जिल्लाको व्यास नगरपालिका र लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिकामा बीमा सम्बन्धी जानकारी मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी प्रस्तुती दिदैँ ठोस नीतिगत व्यवस्था गरी बीमा कार्यक्रमलाई अगाडि बढाउन नगरपालिकासँग आग्रह गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले प्रलोभनमा परेर बीमागर्दा बीमा शुल्क बुझाउन नसक्ने अवस्था आएको, बीमा गर्नुभन्दा अगाडि बीमालेखका बारेमा राम्रोसँग जानकारी नदिने गरेको, एउटै बीमालेखको बीमा शुल्क कम्पनी अनुसार फरक फरक हुने गरेको, जीवनबीमा गर्दा स्वास्थ्य अवस्थाबारे नसोध्ने तर बीमा गरिसके पछि भने दीर्घरोगी रहेको भन्ने गरेको लगायतका गुनासाहरुको बारेका बताएका छन् ।

यस कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता, कृषक र संचारकर्मीहरु लगायत गरी करिव १०० जनाको सहभागिता रहेको थियो ।

साथै, लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिकामा आयोजित बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा अतिथि, मध्य नेपाल नगरपालिकाका वडा अध्यक्ष एवम् नगर प्रवक्ता रामचन्द्र भण्डारीले बीमा कम्पनीहरुले घर घरमा गएर बीमा गरे जस्तै बीमा दाबी भुक्तानी पनि घर घरमा नै गएर गर्ने व्यवस्था गर्नु पर्ने बताएका छन् ।

उनले बीमाले विपद्का समयमा सरकारलाई आइपर्ने आर्थिक भार कम गर्न मद्दत गर्ने भएकाले एकद्वार प्रणाली मार्फत बीमा कार्यक्रमलाई अगाडि बढाउन महानगरपालिका अग्रसर हुने जानकारी दिएका छन् । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले नगरपालिकाका नीति तथा कार्यक्रममा राखेर बीमा कार्यक्रमलाई अगाडि बढाउन नगरपालिकासँग आग्रह गरेका छन् ।

यस कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता, कृषक र संचारकर्मीहरु लगायत गरी करिव ९० जनाको सहभागिता रहेको थियो ।