दूधदेखि दूधजन्य पदार्थ सबैको मूल्यमा वृद्धि, २ सयले महंगियो घ्यू « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

दूधदेखि दूधजन्य पदार्थ सबैको मूल्यमा वृद्धि, २ सयले महंगियो घ्यू



काठमाण्डौं । यतिेबेला नेपाली बजारमा दुधको मूल्य ह्यात्तै बढेको छ । बजारमा दूधको मूल्य वृद्धि भएसँगै दूधजन्य पदार्थको पनि भाउ बढेको छ । दूधजन्य पदार्थमा सात रुपैयाँदेखि दुई सय ५० रुपैयाँसम्म बढेको निजी डेरी उद्योगीहरूले बताएका छन् ।

नयाँ मूल्यअनुसार अब उपभोक्ताले आधा लिटरको प्याकेट दूधको ५० रुपैयाँ तिुर्नपर्छ । यसअघि उपभोक्ताले ४३ रुपैयाँ तिर्दै आएका थिए । त्यस्तै, दूधको मूल्य वृद्धि हुनुअघि आधा लिटर दहीको मूल्य ६५ रुपैयाँ थियो । अब ग्राहकले आधा लिटर दहीको लागि ८० रुपैयाँ तिर्नुपर्छ ।

पनिरको मूल्यमा पनि प्रतिकिलो एक सय ५० रुपैयाँले वृद्धि भएको छ । अहिले बजारमा पनिरको मूल्य प्रतिकिलो नौ सय ५० रुपैयाँ तोकिएको छ । यसअघि पनिर प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री भइरहेको थियो ।

दूधको नयाँ मूल्यअनुसार सबैभन्दा बढी नौनीको मूल्य प्रतिकेजी दुई सय रुपैयाँ बढेको छ । पहिले प्रतिकेजी नौ सय रुपैयाँमा पाइरहेको नौनीको लागि अब ग्राहकले ११ सय ५० रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, घ्यूको मूल्य प्रतिकिलो ११ सय रुपैयाँबाट बढेर १३ सय रुपैयाँ पुगेको छ ।

मूल्य वृद्धिबारे नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालसँग कुराकानी गर्दा उत्पादन लागत हेरेर मूल्य बढाइएको बताउँछन् । दूधको मूल्यवृद्धि भएसँगै डिडिसीले दही, पनिर, बटर, चिज, घ्यू, आइसक्रिम, मिठाइ लगायत दूधजन्य पदार्थको मूल्य पनि बढाउने तयारी गरेको छ ।

उत्पादन लागत हेरेर एक÷दुई दिनभित्रै नयाँ मूल्य निकाल्ने डिडिसीका बजार व्यवस्थापन विभाग प्रमुख सञ्जिव झाले जानकारी दिए । उनले भने, ’मूल्य बढ्छ । हामी उत्पादन लागत हेरेर बढाउँछौं ।’ सरकारी स्वामित्वको भएकाले निजीभन्दा डिडिसीको उत्पादन सस्तो हुने झाको भनाइ छ ।

सरकारले किसानले पाउने दूधको मूल्य नौ रुपैयाँले वृद्धि गरेपछि उद्योगीले पनि उपभोक्ता मूल्य १४ रुपैयाँले वृद्धि गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्