१० श्रावण २०८३, आइतबार

बीमासम्बन्धी नीति तर्जूमामा आवश्यक सहयोग गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह

बीमासम्बन्धी नीति तर्जूमामा आवश्यक सहयोग गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह



काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा रूकुम (पूर्व) जिल्लाका भूमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भूमे गाउँपालिकामा वैशाख १८ गते भएको कार्यक्रममा भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठले बीमा सम्बन्धी कार्यक्रम ल्याउन गाउँपालिका तयार रहेको जानकारी दिर्दै बीमा सम्बन्धी नीति तर्जूमामा आवश्यक सहयोग गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह गरे ।

यसैगरी, पुथा उत्तरगङ्गा गाउँपालिकामा वैशाख १७ गते आयोजित कार्यक्रमा पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरी बीमाका बारेमा जानकारी दिएकोमा प्राधिकरण प्रति आभार प्रकट गरेका छन् ।

कार्यक्रममा सहभागीहरूले भौगोलिक विकटतालाई ध्यानमा राखी बीमा गरिएका पशुपन्छीको क्षति हुँदा भिडियो बनाउनुपर्ने व्यवस्था हटाउनुपर्ने, समयमै बीमा दाबी भुक्तानी नपाएको, बीमा सर्भेयरले क्षति भएको सम्पत्तिको कम मूल्याङ्कन गर्ने गरेको, बीमा कम्पनीले खच्चड र बङ्गुरको बीमा गर्न नमानेको लगायतका धारणा राखेका थिए ।

कार्यक्रमहरूमा नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले आर्थिक चन्दा, पुरस्कार लगायतका लागि छुट्याइएको रकमबाट नागरिकको बीमा गर्नु उचित हुने सुझाव दिए । उनले गाउँपालिकाका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बीमालाई समावेश गर्न आग्रह गदै बीमा सम्बन्धी नीति तर्जूमामा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन प्राधिकरण तयार रहेको बताए ।

कार्यक्रमहरूमा सम्बन्धित गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरू, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।