‘नेप्से–३० इन्डेक्स’ ल्याउने तयारी, नेप्से माग्यो राय

काठमाडौं । नेपाल स्टक एस्सचेञ्ज (नेप्से) ले ‘नेप्से–३० इन्डेक्स’ ल्याउने तयारी गरेको छ । नेप्सेले नीतिगत, संस्थागत तथा प्रविधिमार्फत पुँजीबजारको विकास गरी लगानीकर्तालाई आधुनिक दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउँदै आएको र थप सुदृढ बनाउन ‘नेप्से–३०’ इन्डेक्स ल्याउने तयारी गरेको हो ।
नेप्सेले प्रस्तावित नेप्से ३० इन्डेक्समा प्रारम्भिक रुपले तय गरिएका इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था छनोटका आधारहरु तथा इन्डेक्स गणना विधिका लागि जेठ ५ गते भित्र राय सुझाव दिन भनेको हो । बजारमा तत्काल कारोबारयोग्य सेयरहरुलाई समावेश गरी बजार पुँजीकरणमा आधारित सूचकांकका रुपमा यो इन्डेक्स तर्जुमा हुने पनि नेप्सेले जनाएको छ ।
यसैगरी, कम्पनीको कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरु (फ्री–फ्लोट)को कुल बजार पुँजीकरणमा यो इन्डेक्समा राखिने कम्पनीको यस्तै सेयरहरुको बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।
प्रस्तावित नेप्से ३० इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित सस्था छनोटका लागि प्रति सेयर चुक्ता मूल्य भन्दा प्रति सेयर किताबी मूल्य बढी हुनुका साथै विगत आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्ष सहित कम्तिमा ३ वर्ष खुद नाफा रहेको, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोहि वर्षको वार्षिक मुद्रास्फीति दर भन्दा बढी रहेको, सेयरधनीको संख्या कम्तीमा २०,००० रहेको, पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत रु. २५ लाख वा सोभन्दा बढी रकमको कारोवार भई दैनिक औसत ५००० कित्ता वा सोभन्दा बढी कित्ताको कारोवार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोवार भएको र पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोवार दिनहरु मध्ये न्यूनतम ७५ प्रतिशत दिनहरुमा कारोबार भएको हुनु पर्ने छ ।