नियामक मुखदर्शकः सेयर बजारले लिएन गति, पर्ख र हेरको रणनीतिमा लगानीकर्ता
काठमाडौं । साताको दोस्रो पनि सेयर बजार राताम्य भएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बन्दै गएको छ । बजार बढाउन लगानीकर्ताको मनोबल पनि उच्च हुनु आवश्यक छ । अहिले बजार लगानीकर्ताले सकरात्मक समचार सुन्न नपाउँदा मनोबल खस्किदैं गएको छ । लागनीकर्ताको मनोबल उच्च हुन नसक्दा बजार ओरालो लागि रहेको छ ।
यता अर्थमन्त्रालय बजेटको तयारीमा रहेको छ । अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभामा आइतबार बिनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्दै महतले पुँजी बजारमा देखिएको उतारचढावलाई अगामी बजेटले सम्बोधन गर्ने बताएका छन् । बढ्दो ब्याजदर, बढ्दो ब्यापार घाटा, बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जाको जोखिमजस्ता चुनौती अर्थतन्त्रमा विद्यमान रहेका र आगामी बजेटमार्फत यी समस्याको समाधान गरिने बताएका छन् । तर लगानीकर्ता अझै लगानी गर्ने तयार छैन ।
लगानीकर्ताले आफ्ना माग बजेटमा सम्बोधनका लागि सधैका वर्ष राख्ने गरेका छन् । सम्बोधन नहुदाँ हरेक वर्ष एउटै कुरा दोहोर्याउनु पर्ने र माग सम्बोधन नहुने अन्यौलतले पनि बजारमा उत्साह छाउन सकेको छैन । सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार, नेप्सेको प्रविधि अपडेट, राफसाफ प्रत्याभूति कोष (सेटलमेन्ट ग्यारेन्टी फन्ड), अक्सन मार्केट सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था, नेप्सेको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नु पर्ने माग रहेक वर्ष बजेट निर्माणका बेला लगानीकर्ताले उठाउदैं आएका माग पुरा नहुने गरेका छन् ।
यता, खराब सूचक रहेका कम्पनीहरुले आइपीओ निष्कासनका लागि अनुमति पाइरहेका छन् । अहिले हाइड्रोपावर कम्पनीहरुले आइपीओ निष्कासनका लागि ताति नै लाग्ने गरेको छ । लगानीकर्ताले बर्षौ लाभांश नपाउने खालका र नेटवर्थ नै ऋणात्मक रहेका हाईड्रोहरुको आईपीओ आउनुले पनि बजार ओरालो लागेको जानकारहरु बताउछन् । यतिमात्र, नभइ २२अर्बको कारोबार हुने नेपाली सेयर बजार ६०।७० करोडमा सिमित बनेको बेला प्रिमियममा आइपीओ निष्कासनको अनुमति दिनुले पनि बजारलाई बढ्न दिएको छैन ।
केन्दिय बैंकले पनि अबको केहि दिन भित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिले सधैका वर्ष झै यो वर्ष पनि माग सम्बोधन नगर्ने हो कि भन्ने अन्यौलताले लगानीकर्ता लगानी गर्ने अझै ढक्क भएको अवस्था छैन ।
केन्द्रीय बैंकले कस्ने नीति लिनु अनि तरलता अभाव र चर्को ब्याजदर एकैसाथ व्यहोर्नुपर्दा करिब ३२ सय विन्दुमा पुगेको बजार त्यसपछि निरन्तर ओरालो लाग्न थालेको हो । नियामक तथा सरकारबाट सुधारका कुनै पनि उपाय अवलम्बन नगर्नुले पनि बजारलाई सकरात्मक दिसा दिन सकेको छैन । सबल वित्तीय सूचक भएकै कम्पनीहरुको मूल्य तल्लो विन्दुमा आइसक्दा पनि लामो समयदेखि लगानीकर्तामा उत्साह देखिएको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९३ अकंले घटेर १८३३.६९ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर किनबेच हुदाँ ८२ करोड ४२ लाख १७ हजार १ रुपैयाँको कारोबार भएको छ ।
सोमबार १३ उपसूचक नै राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.५३ प्रतिशत, विकास बैंक समूहको ०.४० प्रतिशत, फाइनान्स समूहको १.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको २.४४ प्रतिशत, हाइड्रोपावर समूहको १.८९ प्रतिशत लगायत १३ उपसूचक राताम्य भएका हुन् ।

आज शिवम् पावरको ३ करोड ७८ लाख रुपैयाँ, हिमाल दोलाखा हाइड्रोपावरको २ करोड २५ लाख रुपैयाँ, हिमालयन डिष्टीलरीको २ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।

आज वीन नेपाल लघुवित्तको ८.०५ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.०८ प्रतिशत, एनआइबिएल ग्रोथ फण्डको ४.८९ प्रतिशतले सेयर बढेको छ ।














