१० श्रावण २०८३, आइतबार

प्रभु लाइफको नाफा बढ्यो: बीमा कोषका आकार पनि बढ्यो, यस्ता छन् अन्य सूचकहरु



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ३ करोड बढीले वृद्धि भएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको ९ महिनामा कम्पनीले १३ करोड २३ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन, गत आवको चैत मसान्तसम्मको तुलनामा ३०.६४ प्रतिशतले बढी हो । गत आवको समिक्षा अवधिमा कम्पनीले १० करोड १३ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन भने सामान्य वृद्धि भएको छ । सो अवधिमा कम्पनीले १ अर्ब ४६ करोड १२ लाख ७६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । बीमा क्षेत्रमा देखिएका समस्या र चुनौतिहरुको सन्दर्भमा समेत कम्पनीले सन्तोषजनक रुपमा बीमा शुल्क आर्जन गर्न सफल भएको व्यवस्थापनको विश्लेषण छ ।

आगामी दिनमा कम्पनीको व्यवसाय अभिवृद्धि गर्नका लागि सेवाग्रहीलाई उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । कम्पनीले बीमा सम्वन्धी सचेतना कार्यक्रमहरु संचालन गरि दक्ष बीमा अभिकर्ताहरु उत्पादन गरि बीमाको पहुँच देशका प्रत्येक गाउँ टोलमा पुर्याएने लक्ष्य लिएको छ ।

समिक्षा अवधिमा कम्पनीले बीमालेख धितोमा कर्जाबाट १ करोड ४८ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ । चैत मसान्तसम्ममा कम्पनीले अभिकर्ता कमिशन बापत २१ करोड ९ लाख ५८ हजार खर्चिएको छ ।

कम्पनीका हालसम्मको बीमा शुल्क आर्जन ७ अर्ब १७ करोड ३९ लाख रुपैयाँ छ । कुल कायम रहेको बीमालेखको संख्या ३ लाख ९४ हजार २३४ रहेको छ ।

हालसम्म कम्पनीले १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ कुल दावी भुक्तानी दिएको छ । यस वर्ष भने कम्पनीको दावी भुक्तानी ५२ करोड ४८ लाख ६१ हजार रुपैयाँ रहेको छ । कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम ६७ लाख रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा पनि ५९ करोड ७२ लाख ५० हजार रुपैयाँ राखेको छ ।

कम्पनीको जीवन बीमा कोषको आकार पनि ७६ करोड २० लाख रुपैयाँले बढाएर ३ अर्ब ७४ करोड ४० लाख ४८ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ १७ पैसा छ ।