बिक्नै छाड्यो म्युचुअल फण्ड, पछिल्लो पटक निष्कासित फण्डहरूको अवस्था तनावपुर्ण, २५ प्रतिशत भन्दा बढी ‘अनसस्क्राइव’
काठमाडौं । सेयर बजारमा देखिएको अस्थिरता तथा लामो समयदेखिको घट्दो प्रबृत्तीले म्युचुअल फण्ड (सामुहिक लगानी कोषहरु) प्रति लगानीकर्ता निराश देखिएका छन् । सामान्य अवस्थामा सेयरको दोस्रो बजारको तुलनामा म्युचुअल फण्डमा गरिने लगानीलाई कम जोखिमयुक्त मानिन्छ । त्यसैले बजारको गति अनुसार लगानीको रणनीति बनाउन नसक्ने लगानीकर्ताले म्युचुअल फण्डमार्फत् लगानी गर्ने अन्तरराष्ट्रिय चलन छ ।
तर, पछिल्लो समय सोही म्युचुअल फण्डमा लगानीकर्ताको आश्चर्यजनक रुपमा घटेको छ । कुनै बेला म्युचुअल फण्डका एकाईलाई पनि आईपीओ सम्झेर लगानी गर्ने लगानीकर्ताहरु अहिले बढी सचेत देखिन थालेका छन् । उनीहरुले यस्ता एकाइहरुमा लगानी गर्न कञ्जुस्याईँ गरेको देखिएको छ ।
पछिल्लो समय निष्काशन भएका म्युचुअल फण्डको बिक्री दर सम्बन्धी तथ्यांकले यो कुरा पुष्टी गरेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार चालु आर्थिक बर्षको ९ महिनामा बिभिन्न ७ वटा म्युचुअल फण्ड निष्काशन भएका थिए । तर, तिनको बिक्री दर भने औसतमा ७४.३० प्रतिशत मात्रै रहेको छ । अर्थात् १०० रुपैयाँको एकाई बेच्न खोज्दा ७४ रुपैयाँको मात्रै विक्री भएको छ ।
बोर्डका अनुसार विक्री प्रबन्धकहरुको अथक मिहेनतका बाबजुत पनि कुल निष्काशन भएकोमध्ये २५.७० प्रतिशत एकाईहरु बिक्री हुनै सकेनन् । अहिले पनि प्राथमिक सेयर निष्काशन (आईपीओ) मा अपवाद बाहेक मागभन्दा बढी नै आवेदन परिरहेको छ । अघिल्ला वर्षहरुमा म्यूचअल फण्डमा पनि त्यस्तै अवस्था थियो । तर, अहिले म्यूचअल फण्डमा लगानी गर्न तयार नभएको देखिएको छ । यही कारण माग भन्दा पनि कम आवेदन परेर विक्री नै हुन नसकेको उक्त तथ्यांकले पुष्टी गरेको छ ।
जोखिम कम हुनुको मतलव म्यूचअल फण्डमा प्रतिफल पनि स्वाभाविक रुपमा कम हुन्छ । यही कारण यस्ता एकाईहरु लगानीकर्ताका लागि त्यति आर्कर्षक मानिँदैन । सेयर बजारमा मानिसहरुले लाभांश वा प्रतिफलका लागिभन्दा पुँजीगत लाभका निम्ति लगानी गर्छन् । तर यस्ता एकाईहरुले सेयर बजार बढेको बेला केही प्रतिफल दिन सक्ने भए पनि लामो समयदेखि बजार घटेको अहिलेको अवस्थामा त्यो सम्भव छैन ।
अहिले नेप्सेमा कारोबार भइरहेको ३२ वटा म्युचुअल फण्डको औसत मूल्य पौने ९ रुपैयाँ कायम भएको छ । जबकी, यी सबै एकाईहरु लगानीकर्ताले १० रुपैयाँको भाउमा किनेका थिए । कुनै पनि सेयरमा प्राथमिक निष्काशनभन्दा सस्तो नहुँदा पनि म्युचुअल फण्डका एकाईहरु भने अंकित मूल्यभन्दा निकै सस्तोमा पाइने अवस्था छ । यस्तो बेला नयाँ म्युचुअल फण्डमा लगानी गर्नु भनेको ‘पैसा खोलामा बगाए सरह हो’ भन्ने मानसिकता लगानीकर्तामा देखिएको एक ब्रोकर बताउँछन् ।
दोस्रो बजारमा म्युचुअल फण्डका एकाईहरुको मूल्य प्रायः स्थिर रहेता पनि यिनीहरुले दिने प्रतिफलको इतिहास भने राम्रो छ । विविध क्षेत्रका कम्पनीको सेयर, ऋणपत्र, डिबेञ्चर, सरकारी धितोपत्र, मुद्दती निक्षेप लगायतका क्षेत्रमा लगानी गर्ने म्यूचअल फण्डहरुको लाभांश इतिहास त्यति खराब छैन । यिनीहरुले ठूलो रकम सेयर बजारमा पनि लगानी गरेका हुन्छ ।
तर, झण्डै दुई वर्षदे्खि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्दो क्रममा छ । त्यसले गर्दा म्युचुअल फण्डहरुको आम्दानी पनि प्रभावित हुँदै गएको छ । यस्तो कोष व्यवस्थापकहरुलाई कार्यालय सञ्चालनको खर्च धान्न पनि मुस्किल पर्न थालेको छ । कतिपय अवस्थामा कोष व्यवस्थापकहरुले सामूहिक लगानी कोषहरुलाई गलत ढंगले उपयोग गरेको आरोप पनि लाग्ने गरेको छ । यस्ता धेरै जोखिम देखेपछि अहिले लगानीकर्ता यस्ता एकाईबाट टाढिन खोजिरहेका छन् ।
साना र कम जोखिम मोल्ने लगानीकर्ताहरूबाट थोरै थोरै पैसा उठाएर ठूलो पोर्टफोलियोमा लगानी गर्ने संरचनालाई म्युचुअल फन्ड भनिएको हो । कम्पनीहरुले धेरै संख्यामा सर्वसाधारणको थोरै थोरै बचत जम्मा पारेर ठूलो कोष खडा गर्छन् । त्यस्तो कोषहरुले आफ्नो धितोपत्रको एक एकाईको भाउ १० रुपैयाँ राखेका छन् । लगानीकर्ताले कम्तिमा १० युनिटसम्म पनि आवेदन दिन सक्ने भएका कारण जम्मा १ सय रुपैयाँ बचत हुने व्यक्तिले पनि यसमा लगानी गर्न सक्छ ।
वित्तीय बजारमा साना लगानीकर्ताको पनि पहुँच पुगोस् र उनीहरु बचतका निम्ति तत्पर हुन् भन्ने उद्देश्य राखेर यस्ता कोषहरु खडा गरिएका हुन्छन् । बिशेषगरि नेपालमा बैंकहरुले नै म्यूचअल फण्ड सञ्चालन गर्दै आएका छन् ।
कुन कुन भए असफल
चालु आवमा १ अर्ब २० करोड बराबरको ग्लोबल आईएमई व्यालेन्स फण्ड १ निष्काशन भएको थियो । त्यसमा लगानीकर्ताले १ अर्ब २ करोड ५७ लाख रुपैयाँ बराबरको म्युचअल फण्ड खरिद गरेका छन् । त्यसमा १४.५२ प्रतिशत एकाईहरु बिक्री हुन सकेको छैन ।
यसै वर्ष सानिमा ग्रोथ फन्डले पनि १ अर्ब २० करोड बराबरकै म्यूचअल फण्ड निष्काशन गरेको थियो । तर, ६७ करोड २५ लाख ३२ हजार रुपैयाँ बराबरकोमात्रै म्यूचअल फण्ड बिक्री भयो । बाँकी करीब ४४ प्रतिशत एकाईहरु विक्री नै भएन । चालु आवमै १ अर्ब ६० करोड रुपैयाँको एनआईबीएल ग्रोथ फण्ड पनि निष्काशन भयो । त्यो पनि पूर्ण रुपमा विक्री हुन सकेन । तथ्यांकअनुसार उक्त म्यूचल फण्ड केवल १ अर्ब ३२ करोड बराबरको मात्रै बिक्री भयो । यसमा पनि १७.५० प्रतिशत एकाईहरु बाँकी नै रहे ।
सनराइज फोकस इक्युटि फन्ड पनि १६.६७ प्रतिशत नभएको देखिन्छ । तथ्यांकअनुसार १ अर्ब २० करोड रुपैयाँको म्यूचअल फण्ड निष्काशन गर्दा १ अर्ब रुपैयाँको मात्रै बिक्री भएको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३ पनि ३२.८५ प्रतिशतमात्रै विक्री नभएको देखिन्छ । १ अर्ब २० करोड रुपैयाँको उक्त म्यूचअल फण्ड निष्काशन गर्दा ८० करोड ५८ लाख रुपैयाँको बिक्री भएको थियो ।
त्यसैगरि १ अर्ब रुपैयाँको सिटीजन्स सुपर ३० म्यूचअल फण्ड पनि २४.९३ प्रतिशत हाराहारी बिक्री हुन नसकेको देखिन्छ । तथ्यांकअनुसार ७५ करोड ७ लाख २३ हजार रुपैयाँको मात्रै उक्त म्यूचअल फण्ड बिक्री भएको छ । १ अर्ब २० करोडको आरबीबी म्यूचअल फण्ड २ पनि २९.४९ प्रतिशत विही हुनै सकेन ।
८४ करोड ६१ लाख १९ हजार बराबरको मात्रै आरबीबी म्यूचअल फण्ड बिक्री भएको थियो । यो म्यूचअल फण्डले पनि गत चैतमा पनि निष्काशनको अनुमति पाएको थियो । यी सात म्यूचअल फण्डको औसत बिक्री दर ७४.३० प्रतिशत रहेको छ । बाँकी २५.७० रुपैयाँ बराबरको युनिट भने बिक्री नभएको तथ्यांक उल्लेख छ ।













