साताको बजारः नेप्से १०१ अकंले घट्दा कारोबार पाँच अर्बले खुम्चियो, ‘पर्ख र हेर’ कै रणनीतिमा लगानीकर्ता !
काठमाडौं । गत साता एक दिन मात्र ओरालो लागेको बजार यो साता भने एक दिन मात्र सुधार आएको छ । आर्थिक वर्ष २०७९।०८० अन्तिम तिर आइपुग्दा सेयर बजार प्रभावित बन्न पुगेको हो ।
असार मसान्तको प्रभावले सेयर बजार यो साता प्रभावित बन्यो । बैंकिङ प्रणालीमा प्रयाप्त मात्रमा लगानीयोग्य रकम भएपनि असार मसान्तको प्रभावले बजार ओरालो लागि रहेको लगानीकर्ता तिलक कोइरालाले बताए ।
आर्थिक वर्षको अन्तिममा कर्जाको साँवा–ब्याज भुक्तानी र अन्य करहरुसमेत तिर्नुपर्ने भएकाले ठूला लगानीकर्ताले समेत खरिदक्रम बढाउन नसकेको एक लगानीकर्ताले बताए । उनले भने, ‘बजार बढेको बेला नाफा बुक गरेका लगानीकर्ता अझै घट्छ कि भनेर बसेका छन् । बिक्री गरेका लगानीकर्ता आफुले बिक्री गरेको भन्दा कम मुल्यमा सेयर किन्न खोजि रहेका छन् सोहि कारण बजार प्रभावित भइरहेको छ ।’
समग्रमा सेयर बजारमा असार मसान्तको दबाबसँगै आगामी मौद्रिक नीतिको प्रभाव पारेको देखिन्छ । नाफा बुक गरेकाहरु पनि अहिले ‘पर्ख र हेर’ कै रणनीतिमा लगानीकर्ता लागेका छन् । नयाँ लगानीकर्ता तत्काल बजारमा प्रवेश गर्नुको सट्टा मौद्रिक नीति लाई पर्खिएको पाइन्छ ।
बजार घट्नु र बढ्नु स्वभाविक विषय हो । तर बजार बढाउन र घटाउनमा लगानीकर्ताको मनोबलले ठूलो भुमिका खेलि रहेको हुन्छ । असार मसान्तमा सेयर बजारमा सामान्य दबाब पर्न पर्दैछ । यो बेला लगानीकर्ताको मनोबल उच्च हुनु जरुरी रहेको जानकारहरु बताउछन् ।असार मसान्त कै कारण कारोबार खुम्चिदो अवस्था छ भने नेप्से सूचकसँग सूचक पनिसुस्त बनेको छ ।
सेयर बजार यो साताको सुरुवात मै ५३.७० अकंले घटेर हो । साताको अन्तिम दिनसम्म आइपुग्दा बजार कूल १०१.६१ अंकले घट्दै नेप्से सूचक २०४९.३८ अंकको विन्दुमा झरेको छ ।
यो साताको तेस्रो कारोबारको दिन मात्र बजार दोहोरो अकंले बढेको हो । मंगलबार सेयर बजार १२.७३ अकंले बढेर परिसूचक २१०४.३८ बिन्दुमा पुगेको थियो ।
कारोबार रकम भने ओरालो, गत साता भन्दा पाँच अर्बले घट्यो
गत साता चार दिनको कारोबारमा समेत २३ अर्ब दुई करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा यो साता भने खुम्चिएको छ । नेप्से एक सेन्चुरी घट्दा कारोबार रकम समेत प्रभावित बनेको हो । यो साता कारोबार घटेर १७ अर्ब ८६ करोड ८ लाख रुपैयाँमा झरेको छ । जुन गत साता भन्दा ५ अर्ब १६ करोड रुपैयाँ कम कारोबार हो ।
यो साता धितोपत्र बजारको पुँजीकरण यो साता घटेर ३० खर्ब ८ अर्ब ७२ करोड १० लाख रुपैयाँमा पुगेको हो । जुन गत साता भन्दा एक खर्ब ४१ अर्ब भन्दा कम हो ।
अब किन पनि मार्छ सेयर बजारले फड्को ?
वित्तीय प्रणालीमा तरलता सहज भएकाले लगानीकर्ता आशावादी भने पक्कै बनेका छन् । मौद्रिक नीति सेयर बजारको मुख्य आधार लगानीकर्ताले मान्ने गरेका छन् । मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा १२ करोडको सीमा र जोखिमभार १५० प्रतिशत कायम गरिएको प्रावधानमा राष्ट्र बैंकले खुकुलो बनायो भने बजारले लय समात्ने जानकारहरुको प्रतिक्रिया रहदै आएको छ ।
धेरै पूँजी भएका ४३ वटा सेयर दलालहरु थपिने कुरा नेपालको सेयर बजारमा ऐतिहासिक नै हो र यसबाट बजार बिकास, लगानीकर्ताले पाउने प्रतिस्पर्धी सेवा सुविधामा नयाँ आयाम थपिन छ । नेपाल स्टक एक्सचेन्जले पहिले नेप्से फिप्टी भनेकोमा अहिले नेप्से थर्टी ईन्डेक्ससहितको उपकरण चाँडै नै संचालनमा आउदैं छ । जसका लागि नेप्सेले परिक्षण गर्ने निर्णय समेत गरी सकेको छ । यसले पूँजी बजारका महत्वपूर्ण कम्पनीहरुको बर्गीकरण र कारोबारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
नेपाल धितोपत्र बोर्डले हाईड्रो र अन्य बर्गका कम्पनीहरुको संस्थापक हिस्सेदारी कति हुनुपर्ने भन्ने कुराको यकिन गर्दै चाँडै नै त्यससम्बन्धी ब्यवस्थाहरु गर्ने गरी हाल अध्ययन गरिरहेको छ । नेपालको पुँजी बजारमा गैैरआवासीय नेपालीहरुको प्रत्यक्ष लगानीसम्बन्धी ब्यवस्था पनि हुन लागेका छन् । बजारमा उच्च नेटवर्थ भएका उत्पादनमुलक र सेवा क्षेत्रका कम्पनीहरुको प्रबेश बढ्दो छ । यसबाट लगानीकर्ताले राम्रो कम्पनी छनौट गरी आईपीओमा आबेदन गर्ने र दोस्रो बजारमा कम्पनी छनौटका अरु धेरै विकल्पहरु पाउनेछन् ।
पूँजी बजार जोखिमको क्षेत्र भएकाले सोची विचारी, आफ्नो जोखिमबहन क्षमता, लगानी रणनीति, लगानी गरिने रकमको लागत, बजारमा हुने खेल, संभावना र चुनौैति राम्रोसँग बुझेर विवेकपूर्ण लगानी गरिएको अबस्थामा बजारबाट लाभ लिन सकिने संभावना धेरै छ । जान्नेले झन् धेरै कमाउँनसक्ने संभावनाका ढोकाहरु खुल्दैछन् । त्यसैले भागेर हैन, बजारमै टिकेर परिवर्तनको स्वाद चाख्नु राम्रो हुनेछ ।













