साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताएका छन् ।
सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने’ बताएका हुन् ।
राष्ट्रको समग्र विकास र संवृद्धिका निम्ति, मुलुकको अग्रगामी परिवर्तनको निम्ति इतिहासका विभिन्न कालखण्डमा राजनीतिक व्यक्तित्व, लगायत विभिन्न विधासँग सम्बन्धित व्यक्तित्वहरूले महत्वपूर्ण योगदान दिएको उनको भनाइ रहेको थियो ।
युगान्तकारी राजनीतिक परिवर्तनसहितको आजको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याई पुर्याउन कमरेड पुष्पलालले अनुसरण गर्नुभएको सिद्धान्त, विचार, नीति र देखाउनुभएको मार्गनिर्देशनले ठूलो अर्थ राख्ने उनले बताए ।













