हकप्रद सेयर सम्वन्धी प्रभु इन्स्योरेन्सको थप स्पष्टोक्ति: ‘प्राधिकरणको पूर्व स्वीकृतिपछि नै थप निर्णय हुन्छ’
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीले चुक्तापुँजी वद्धिका लागि हकप्रद सेयर निष्काशन बाटो राजेको हो ।
कम्पनीले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि निवेदन पेश गरेको हो । प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाइ न्युनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । हाल कम्पनीको चुक्तापुँजी अर्ब ३७ करोड ६१ लाख ३२ हजार रुपैयाँ छ ।
कम्पनीको संचालक समितिको बैठकको निर्णयपछि हकप्रद सेयर जारी गर्न प्राधिकरणमा स्वीकृतिका लागि निवेदन पेश गरेको हो । हकप्रद सेयर निष्काशन सम्वन्धी केही अन्यौल सृजना भएको भन्दै कम्पनीले थप स्पष्ट पारेको छ ।
हकप्रद सेयर निष्काशनको विषयमा यसअघि नै कम्पनीको २७औं वार्षिक साधारण सभामा छलफल गरि निर्णय भएको जनाएको छ । हकप्रद सेयर जारी गर्नको लागि प्राधिकरणबाट पूर्व स्वीकृति लिने निर्णय भएको कम्पनीको भनाई छ ।
सोही बमोजिम नै हकप्रद सेयर निष्काशनको अनुमति माग्दै बीमा प्राधिकरणमा निवेदन पेश गरिएको कम्पनीले जनाएको छ । अब प्राधिकरणको स्वीकृति पश्चात नै सेयर निष्काशन सम्वन्धी निर्णय र र आवश्यक प्रक्रिया अघि बढाउने कम्पनीको भनाई छ ।
प्राधिकरणले तोकेको न्युनतम पूँजी कायम गर्न प्रभुले अन्य निर्जीवन बीमा कम्पनीहरुसँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा सहमति हुन नसकिएको जनाएको छ । कम्पनीले यसअघि असोज इन्स्योरेन्संग मर्जर सम्झौता गरेको थियो । तर, अजोडले मर्जर सम्झौता भाँडेर युनाईटेडसंग मर्जर भई एकीकृत कारोबार समेत थालिसकेको छ ।
प्रभुले मर्जर सफल हुन नसकेपछि विदेशी कम्पनीहरुसँग समन्वय गरी वैदेशिक रणीतिक साझेदार (विदेशी लगानी) ल्याउने प्रयास भैरहेको जनाएको छ । यद्यपि, वैदेशिक रणीतिक साझेदार भित्राउने सम्बन्धमा अन्तिम निर्णय नभएको कम्पनीको भनाई छ । विकल्पको रुपमा असार २७ गते बसको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको जनाएको छ ।













