अब ‘नेप्से–३० इन्डेक्स’ औपचारिक रुपमा सञ्चालन आउने, आन्तरिक कार्यविधि-२०७९ स्वीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबारको नयाँ सूचकाङ्क ‘नेप्से ३०’ औपचारिक रुपमा सञ्चालन आउने भएको छ । नेप्सेको सोमबार बसेको सञ्चालक समिति बैठकले ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेड सूचकांक विकास, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि, २०७९’ स्वीकृत गरेसँगै नेप्से ३० इन्डेक्सको औपचारिक सुरुवात भएको हो ।
केही नमुना कम्पनी छनोट गरेर गत साउन ९ गतेदेखि यसको आन्तरिक परीक्षण समेत भइरहेको थियो । आन्तरिक परीक्षणले नेप्से ३० इन्डेक्स सञ्चालन सम्भव पनि देखाएको थियो । सञ्चालक समितिले कार्यविधि पास गरेसँगै कार्यन्वयनको लागि समिति गठन गर्ने निर्णय गरेको छ ।
नेप्सेले सबै सूचिकृत कम्पनीमध्येबाट तोकिएको मापदण्ड पुरा हुने उत्कृष्ट ३० कम्पनीलाई यसमा समावेश गरिने छ । बैङ्क तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत, उत्पादनमूलक र व्यापार तथा सेवा गरी ६ क्षेत्रको कम्पनीलाई यसमा समावेश गरिनेछ । त्यसमा एउटा क्षेत्रबाट न्यूनतम १ अनिवार्य र अधिकतम ८ वटा कम्पनी समावेश गरिने छ र यो इन्डेक्स बनाइने छ ।
हाल नेप्सेमा सेन्सीटीभ, सव सेन्सीटीभ, समूहगत गरेर १७ वटा इन्डेक्स रहेका छन् । यो थपिएपछि १८ वटा इन्डेक्स भएका छन् । पहिलो चरणमा यस इन्डेक्सको छुट्टै सेयर कारोबार भने हुँदैन । सर्वसाधारणले नेप्से ३० इन्डेक्सबारे विस्तृतमा बुझेपछि यसको छुट्टै कारोबार गर्न सकिने बताइएको छ ।
दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकाङ्कहरूको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यले नेप्सेले यो इन्डेक्स ल्याएको हो । यसमा तत्काल कारोबारयोग्य फ्री फ्लोट सेयरहरूलाई समावेश गरी बजार पुँजीकरणमा आधारित सूचकाङ्कको रूपमा नेप्से ३० इन्डेक्स लागू गरिनेछ ।


















