वैदेशिक रोजगारीले बढाउँदै आम्दानी: रेमिट्यान्सको लगानी ‘घर जग्गा र सुन’ किन्नमा बढी, सेयरमा कम
काठमाडौँ । वैदेशिक रोजगार मार्फत नेपाल भित्रने रेमिट्यान्स घर जग्गा तथा सुन खरिदमा लगानी हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव बारे गरिएको अध्ययनले यस्तो देखाएको हो ।
लुम्बिनी प्रदेशका ५ जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पाबाट वैदेशिक रोजगारीमा गएका ३८३ परिवारको स्थलगत सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार पारिएको हो ।
अध्ययन प्रतिवेदन अनुसार विदेशबाट पठाएको रेमिट्यान्स अनुत्पादक क्षेत्रमै बढी लगानी भएको देखिन्छ । घर निर्माण वा घर जग्गा खरिदमा ६८.४१ प्रतिशत लगानी गरेका हुन् । यस्तै, सुनचाँदी खरिदमा पनि ५२.६७ प्रतिशत रेमिट्यान्स लगानी भएको देखिएको छ । यसका साथै ६६.०२ प्रतिशत रेमिट्यान्स रकम भने बैङ्कमा बचत गरेको पाइएको छ ।
अध्ययनअनुसार नेपाल भित्रने रेमिट्यान्सको सबैभन्दा कम लगानी सेयर खरिदमा देखिएको छ । यस क्षेत्रमा ४.४४ प्रतिशत मात्रै लगानी गरेको देखिन्छ । राष्ट्र बैङ्कका अनुसार व्यापार व्यवसायमा १२.२७ प्रतिशत, सामाजिक कार्यमा १२.०१ प्रतिशत र व्यक्तिगत लगानीमा ९.१४ प्रतिशत लगानी गरेको पाइएको हो । केन्द्रीय बैङ्कले वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्थामा परेको विभिन्न प्रभावहरूलाई लिकर्ट स्केल प्रश्नावलीका आधारमा बढेको, यथावत् र घटेको गरी तीन भागमा वर्गीकरण एवम् विश्लेषण गरेको छ ।
वैदेशिक रोजगारीमा गएका परिवारहरूको आर्थिक अवस्था मूल्याङ्कन गर्न लिइएका विभिन्न ८ वटा आर्थिक पक्षमा करिब ९६.० प्रतिशत उत्तरदाताले वैदेशिक रोजगार पश्चात् दैनिक उपभोग खर्च र चाडपर्व/मनोरञ्जन/सामाजिक खर्च बढेको बताएका छन् । करिब ६५.० प्रतिशत उत्तरदाताले व्यापार/व्यवसाय, गरगहना र घर/घडेरी खरिद बढेको बताएका छन् ।
अध्ययनमा खेतीयोग्य जमिन १३.०५ प्रतिशतको बढेको र ३५.५१ प्रतिशतको घटेको बताएका हुन् । यस्तै, शेयरमा लगानी १२.२७ प्रतिशतको बढेको र ०.२६ प्रतिशतको घटेको बताएका छन्। नमुना छनौटमा परेका ३८३ सदस्यहरूमध्येका ८८.२५ प्रतिशत परिवारले अर्थतन्त्रको महत्त्वपूर्ण सूचकको रूपमा रहेको बचत समेत बढेको बताएका छन् । यस अर्थमा वैदेशिक रोजगारीको कारण वित्तीय पहुँच बढ्न गएको बुझ्न सकिन्छ । समग्रमा वैदेशिक रोजगारीका कारण खेतीयोग्य जमिन घटेको देखिन्छ भने दैनिक उपभोग खर्च, चाडपर्व/मनोरञ्जन/सामाजिक खर्च, गर गहना र घर/घडेरी खरिद गर्ने परिवार बढेको देखिन्छ।
वैदेशिक रोजगारले बढायो आम्दानी, २ लाखबाट साढे ८ लाख पुग्यो
अध्ययनमा समेटिएका संलग्न परिवारको वैदेशिक रोजगारीमा जानु पूर्व र गए पश्चात् आम्दानी, खर्च र बचतको तुलना गर्दा वैदेशिक रोजगारीमा गए पश्चात् औसत आम्दानी करिब २ लाख २१ हजारमा २८१.४५ प्रतिशतले वृद्धि भएको देखिन्छ । हाल यस्तो आम्दानी बढेर ८ लाख ४३ हजार पुगेको छ ।
औसत खर्च करिब १ लाख ९० हजारमा १२४.७४ प्रतिशतले वृद्धि भएको छ । यस्तो खर्च ४ लाख २७ हजार रुपैयाँ पुगेको छ । त्यसै गरी, औसत बचत ३१ हजारमा उल्लेख्य वृद्धि भई ४ लाख १६ हजार रुपैयाँ पुगेको देखिन्छ । वैदेशिक रोजगारीमा जानु पूर्व परिवारको बचत ज्यादै न्यून भएकाले गए पश्चात् औसत बचतको प्रतिशत परिवर्तन बढी देखिएको हो ।
अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा संलग्न श्रमिक र परिवारका सदस्यहरूले वैदेशिक रोजगारीबाट प्राप्त बचत रकमलाई एक वा एक भन्दा बढी क्षेत्रमा लगानी गरेको देखिन्छ । छनौटमा परेका नमुना अध्ययनको आधारमा वैदेशिक रोजगारीमा संलग्न ६८.४१ प्रतिशत श्रमिक/परिवारका सदस्यहरूले घर/जग्गा खरिद एवम् निर्माणमा बचत रकम लगानी गरेका छन्।
त्यसैगरी, बैङ्क बचत, सुन/चादीं खरिद, व्यापार व्यवसाय, सामाजिक कार्य, व्यक्तिगत लगानी र शेयर खरिदमा क्रमशः ६६.०२ प्रतिशत, ५२.६७ प्रतिशत, १२.२७ प्रतिशत, १२.०१ प्रतिशत, ९.१४ प्रतिशत र ४.४४ प्रतिशतले बचत रकम लगानी गरेका छन् ।
यी हुन् अध्ययन प्रतिवेदनको सुझाव
वैदेशिक रोजगारीमा जाने निम्न वर्गीय परिवारहरूलाई मध्यनजर गर्दै रोजगारीमा जाँदा लाग्ने लागत न्यूनीकरण गर्ने तथा आवश्यक तालिम र प्रशिक्षणद्वारा सीप विकास गरेर गन्तव्य मुलुकहरूसँग श्रम सम्झौता गरी श्रमिकहरूलाई वैदेशिक रोजगारमा पठाउने व्यवस्था गरेमा विप्रेषण आम्दानीमा वृद्धि हुने देखिन्छ ।
वैदेशिक रोजगारीमा जाने सङ्ख्याको वृद्धिसँगै अध्ययनमा समेटिएका परिवारहरूमध्ये ३५.५१ प्रतिशतको खेतीयोग्य जमिन बाँझो भई घटेको देखिएकाले वैदेशिक रोजगारीबाट प्राप्त हुने रकमलाई पूर्ण सदुपयोग गर्दै कृषि उत्पादन बढाउन विशेष नीतिगत व्यवस्था गर्नुपर्ने अध्ययनको सुझाव छ ।
यस्तै, वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्तिहरूको ज्ञान, सीप तथा अनुभवलाई केन्द्रमा राखेर तीनै तहका सरकारले ल्याएका विशेष कृषि, पशुपालन, लघु उद्यम कार्यक्रमहरूमा विशेष आकर्षण नदेखिएकाले सरकारका उक्त नीतिहरूलाई थप परिमार्जन गरी लगानी प्रोत्साहन गर्न उचित कदम चाल्नुपर्ने, यस अध्ययनमा वैदेशिक रोजगारीबाट आप्रवाह हुने विप्रेषण रकम ९७.६५ प्रतिशतले बैंकिङ्ग माध्यमको प्रयोग गरी पठाउने गरेको देखिएता पनि उक्त रकम अनौपचारिक माध्यमबाट नेपाल भित्रिने र स्वदेशमा सम्बन्धित परिवारको बैङ्क खातामा जम्मा हुने जानकारी पाइएकोले यसलाई पूर्ण रूपमा बैंकिङ्ग माध्यममा ल्याउन सम्बन्धित निकायहरूले नीति नियमहरू परिमार्जन गर्नुपर्ने सुझाव छ ।
त्यसैगरि आधारभूत तहको पाठ्यक्रममा वैदेशिक रोजगारी तथा आय आर्जन र समस्या/चुनौतीहरू समावेश गरी पठनपाठन गराउने र वैदेशिक रोजगारीमा जाने कामदार एवम् उनीहरूको परिवारलाई प्राप्त हुने आयको उचित उपयोगका लागि वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्न सकेमा वैदेशिक रोजगारी थप प्रभावकारी हुने प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकका पारिवारिक सदस्यलाई जानु पूर्व अनिवार्य बैङ्क खाता खोल्न लगाई विप्रेषण रकमलाई बैङ्क खातामार्फत नै पठाउने व्यवस्था मिलाउने र पुनः श्रम स्वीकृति लिँदा बैङ्क खाता मार्फत विप्रेषण रकम आए-नआएको यकिन गरेर मात्र श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेमा सम्पूर्ण विप्रेषण आप्रवाह औपचारिक माध्यमबाट आउने सुझाव छ ।













