१७ श्रावण २०८३, आइतबार

नवदुर्गाको अन्तिम रूप सिद्धिदात्री : यसरी पाउनुस् ज्ञान, बुद्धि, सिद्धि र शान्ति



काठमाडौं । नवदुर्गामा नवौं अर्थात् अन्तिम स्वरुप माता सिद्धिदातृ हुन् । माता सिद्धिदात्री आदि पराशक्तिको सौम्य स्वरुप हुन् । माता कूष्माण्डा रुपी हिरन्यगर्भ (प्रकाशपुञ्ज)बाट महाविष्णुको आदुर्भाव भयो । उनको नाभीबाट महाब्रह्मा अवतरित भए । महाब्रह्मालाई गहिरो ध्यानमा रहँदा माता कूष्माण्डाद्वारा सृष्टिको रचना गर्ने आदेश प्राप्त भयो । त्यसपछि महाब्रह्मा विष्मित भएर उठे ।

त्यसबेला महादेवीले अर्धनारीश्वर स्वरुप धारण गरेर ब्रह्मदेवको दर्शन दिएकी थिइन् । त्यही स्वरुप देखेर ब्रह्मदेवले नारी र पुरुषको अन्तर जान्न सके । त्यसपछि उनले सृष्टिको निर्माण कार्य आरम्भ गरे । तर यो काम पुरा गर्न महाब्रह्मालाई ब्रह्म शक्ति आवस्यक थियो । त्यसपछि माता जगदम्बाले सिद्धिधात्रीको रुप धारण गरिन् । त्यसरी महाब्रह्मालाई अष्टसिद्धि, नवनिधीका साथै ब्रह्मशक्ति प्रदान गरिन् ।

शास्त्रमा माता सिद्धिदात्रीलाई स्वेतवर्णा, आनन्दमयी, सर्वसिद्धि प्रदायिनी एवम् अति सौम्य स्वरुपमा प्रस्तुत गरिएको छ । उनी चतुरभुजा शक्ति स्वरुपा हुन् । उनले दाहिने तर्फको एक हातमा गधा र अर्को हातमा चक्र धारण गरेकी छिन् । देब्रे तर्फको एक हातमा कमल पुष्प र अर्को हातमा शंख रहेको छ । बैजनी रंगको वस्त्र पहिरिने हुनाले उनलाई नीललोहिता नामले पनि पुकारिन्छ ।

माताको यस रुपलाई सर्वज्ञानपदायिनी नामले पनि चिनिन्छ । उनी आफ्ना भक्त एवम् साधकलाई ब्रह्म ज्ञानसहित सर्वसिद्धि प्रदान गर्छिन् । माता सिद्धिदात्री सर्वज्ञानको प्रतीक हुन् । उनको साधना गर्नाले मानिसलाई चारै पुरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष) प्राप्त हुने मान्यता छ । उनी अति सौम्य स्वभावकी छिन् । यिनको साधनाबाट अष्टसिद्धि प्राप्त हुन्छ ।

उनी परब्रह्म स्वरुपा हुन् । ज्ञान, बुद्धि, सिद्धि, शान्ति तथा मोक्षको वरदान दिनेवाली माता दयालु, ममतामयी र करुणामयी छिन् । उनी आफ्ना सबै भक्तको समस्त इच्छा पूर्ण गर्छिन् । समस्त प्रकारका समस्याबाट मुक्ति पाउन पनि माता सिद्धिदात्रीको आरधना गरिन्छ । उनलाई आदी पराशक्तिको सुक्षेम कोटी स्वरुपमा वर्णन गरिएको छ ।

माता मन र कल्पनाको पहूँचभन्दा पर छिन् । यिनको भक्ति गर्नाले सबै क्षेत्रमा विजय प्राप्त हुन्छ । वैदिक ज्योतिष अनुसार बुद्धि, ज्ञान, मर्मज्ञ, अन्तरदृष्टि एवम् मानसिक क्षमताको दाता केतु ग्रह माता सिद्धिदात्रीद्वारा शासित हुन्छ । अर्थात् यिनको पूजा गर्नाले केतुको खराब प्रभाव हटाउन र महादशा एवम् कालशर्प योगको प्रभाव घटाउन सकिन्छ ।

यिनको पूजा अर्चनाले गृहस्त प्राणीले सुख, समृद्धि, धन, दीर्घायु, आरोग्यता, शत्रु नाश, ज्ञान, शान्ति एवम् मोक्ष प्राप्त गर्न सक्छ । साधकले यिनको साधना गरेर माया शक्तिलाई नियन्त्रणमा राख्न सक्छ । माता सिद्धिदातृ सर्वसिद्धि रुपी परब्रह्म हुन् । उनको वास सोमचक्रभन्दा पनि माथि पराविन्दुमा हुन्छ ।

पराविन्दुको विषयमा पनि अधिकांश मानिसहरुलाई थाहा नहुन सक्छ । सोमचक्र उन्मुक्ति पश्चात मात्रै साधकले आफ्नो ध्यान पराविन्दुमा केन्द्रित गर्न सक्छ । माता सिद्धितात्री गुणमा विश्वभूता, तत्वमा परातत्व र भेदहरुमा पराशक्ति हुन् ।

साधना एवम् पूजा विधी

साधकले अनाहत नादको प्रयोगबाट बीजमन्त्र ‘ ॐ ’को जप गर्दै नवरात्रीको नवौं दिनको मध्यरातबाट माता सिद्धिदातृको साधना प्रारम्भ गर्नु पर्छ । यस साधनाद्वारा साधकले पराविन्दु चक्र जागृत हुन्छ । त्यसपछि उसमा र परमात्मामा कुनै अन्तर बाँकी रहँदैन । त्यसपश्चात् साधकले सम्पूर्ण सृष्टिको सकल रहस्य जान्दछ । यही अवस्थालाई मोक्ष भनिएको हो ।

तर गृहस्त मानिसले माता सिद्धिदात्रीको पूजा प्रत्येक मंगलबार गर्न सक्छन् । यसका लागि ‘ॐ देवी सिद्धिदात्र्यै नमः’ मन्त्रको १००८ पटक जप गरेर शिव लिङ्ग वा माताको मूर्तिमा जल अभिषेक गर्नुपर्छ । त्यसपछि चम्पाको माला र चम्पाकै फूलले पुष्पाञ्जली प्रदान गर्नुपर्छ । यसबाट मानिसको सम्पूर्ण कष्ट निवारण भई सुख, समृद्धि, धन, दीर्घायु, बुद्धि, ज्ञान, मर्मज्ञ, अन्तरदृष्टि एवम् शान्ति प्राप्त हुन्छ ।