घट्न थाल्यो सेयर कर्जाको ब्याजदर: एभरेष्टको सबैभन्दा सस्तो, कुन बैंकले कति तोके प्रिमियम दर ?

काठमाडौं । एभरेष्ट बैङ्कले कम प्रिमियम दरमा सेयर धितो कर्जा दिने भएको छ । बैङ्कले आधार दरमा न्यूनतम ०.५ प्रतिशतदेखि २.५० प्रतिशतसम्म प्रिमियम थपेर सेयर कर्जा दिने भएको हो । हाल बैङ्कको आधार दर ९.२१ प्रतिशत छ । यसका आधारमा एभरेष्टबाट सेयर कर्जा लिने ग्राहकले अधिकतम ११.७१ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ ।
पछिल्लो समय बैङ्कहरूले निक्षेपसँगै कर्जाको ब्याजदर पनि घटाउन थालेका छन् । बैंकिङ्ग प्रणालीमा अधिक तरलता बढेसँगै पछिल्लो समय बैङ्कहरूको ब्याजदर निरन्तर घट्दो क्रममा छ । ब्याजदर घटाउँदै जाँदा बैङ्कहरूको लागत पनि घट्दो छ, जसले बैङ्कहरूको आधार दरमा पनि प्रभाव परेको छ । अर्थात् बैङ्कहरूको आधार दर पनि घट्दो क्रममा छ । आधार दर घटेपछि कर्जाको ब्याजदर पनि सस्तो हुँदै जान्छ । यसरी घटेपछि ऋणीले सस्तो ब्याजदरमा कर्जा पाउँछन् । अहिले अधिकांश बैङ्कहरूको आधार दर एकल अङ्कमा झरेको छ ।
यता, बैङ्क तथा वित्तीय संस्थाहरूले लगानी बढाउनकै लागि विभिन्न अफरहरू पनि अघि सारेका छन् । पछिल्लो समय बैङ्कहरूमा लगानीयोग्य रकम बढ्दै जाँदा बैङ्कहरूले सस्तो ब्याजदरमा नै कर्जा अफर गर्न थालेका हुन् । बैङ्कहरू विशेष घर जग्गा र सेयर कर्जामा लगानी बढाउन खोजेको देखिन्छ । घर कर्जा बढाउनैका लागि एकल अङ्कको ब्याजदरमै ऋण दिन तयार छन् । यता, सेयर कर्जामा पनि प्रिमियम दर घटाएर लगानी गर्न खोजको देखिन्छ ।
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत सेयर धितो कर्जा र रियल स्टेट कर्जाको जोखिम भार घटाएको छ । केन्द्रीय बैङ्कले ५० लाख भन्दा माथिको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशत रहेको जोखिम भार घटाएर १२५ प्रतिशत र रियल स्टेट कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको छ । राष्ट्र बैङ्कको यो नीतिले पनि सेयर कर्जा बढाउन बैङ्कहरू अग्रसर देखिएका छन् ।
सञ्चालनमा रहेका मध्ये सबैभन्दा कम प्रिमियम एभरेष्ट बैङ्कले कर्जा दिने भएको हो । बैङ्कहरूको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ । बैङ्कहरूले कर्जाको प्रकृति अनुसार ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् ।
हाल नबिल बैङ्कको सेयर कर्जामा १ देखि ४ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैङ्कको आधार दर ९.३ प्रतिशत छ । सेयर कर्जामा नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क, प्राइम, हिमालयन र नेपाल बैङ्कले ५ प्रतिशतसम्म प्रिमियम दर तोकेका छन् । हाल यी बैङ्कको आधार दर क्रमशः ९.८१ प्रतिशत, १०.६८ प्रतिशत, १०.८६ र ९.०५ प्रतिशत रहेको छ ।
यस्तै, सेयर कर्जामा एनएमबि बैङ्क, सिटिजन, सिद्धार्थ, लक्ष्मी सनराइज बैङ्कले अधिकतम ४ प्रतिशतसम्म प्रिमियम दर तोकेका छन् । अहिले यी बैङ्कहरूको आधार दर क्रमशः ९.८१ प्रतिशत, १०.३९ प्रतिशत र ९.६३ प्रतिशत रहेको छ ।
यस्तै, सेयर कर्जामा कुमारी र सानिमा बैङ्कले पनि १.५० प्रतिशतदेखि ३.५० प्रतिशतसम्म प्रिमियम तोकको छ । ग्लोबल आइएमईले ३.५ प्रतिशत, एनआइसी एशियाले ३ प्रतिशत, प्रभुले ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म, स्ट्याण्डर्ड चार्टर्डले ४.५ देखि ५ प्रतिशतसम्म, माछापुच्छ्रेले १ देखि ४ प्रतिशतसम्म र नेपाल एसबिआईले पनि २ देखि ४ प्रतिशतसम्म प्रिमियम दर तोकेका छन् । बैङ्कहरूले आधार दरमा नै प्रिमियम थपेर कर्जा प्रदान गर्दछन् ।
कुन बैङ्कको आधार दर कति छ ?
