९ श्रावण २०८३, शनिबार

नेपाल सोलार फार्मले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल



काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १२ करोड बराबरको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँदरको १२ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

आइपीओ निष्कासनका लागि निमित्त ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा नेपाल सोलारको तर्फबाट सञ्चालक जितेन्द्र भट्टराई र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन् ।

सोलार फार्म वि.सं. २०७४ सालमा प्रा.लि.को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो । यसको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बाफल, काठमाडौंमा रहेको छ ।

अधिकृत पूँजी ३० करोड रुपैयाँ र जारी पूँजी २५ करोड रुपैयाँ रहेको यस कम्पनीको आयोजना रुपाकोट गाउँपालिकाको वडा नं.६, सिम्लेमा रहेको छ । कम्पनी अन्तर्गत निर्माण सम्पन्न भएको आयोजना सोम राधाकृष्ण सोलर फार्मबाट गत कात्तिक १४ गतेदेखि ४ मे. वा. क्षमताको विद्युतशक्तिको व्यापारिक उत्पादन शुरु भई राष्ट्रिय प्रसारण लाइनमा जोडिईसकेको छ।

भविष्यमा थप सौर्य उर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेको कम्पनीमा सोलार लगायत अन्य विभिन्न उर्जा तथा विकास निर्माण क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्