नाफामा चमत्कारिक ग्रोथ गरेको आइजीआई प्रुडेन्सियलले दियो १ अर्ब ७० करोड दावी भुक्तानी
काठमाडौं । व्यापार र नाफा वृद्धिदरमा अब्बल देखिएको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी दावी भुक्तानीमा पनि अगाडि देखिएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ६१ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा २.५६ गुणा (१५६.६७ प्रतिशत) बढी हो ।
नाफामा चमत्कारिक सुधार गरेको कम्पनीले गत वर्ष डेढ अर्ब बराबरको दावी भुक्तानी गरेको छ । कम्पनीले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आवमा कम्पनीले १ अर्ब ७० करोड २४ लाख २८ हजार रुपैयाँ दावी भुक्तानी गरेको हो । कम्पनीले दावीको ९४.८५ प्रतिशत (बीमालेखको आधारमा) भुक्तानी दिएको हो । रकमको आधारमा भने ८९.१४ प्रतिशत हुन् आउँछ ।
गत आवमा कुल १ अर्ब ९१ करोड १४ हजार रुपैयाँ बराबरको दावी परेको थियो । यो बीमालेख संख्यामा भने २० हजार ५२३ वटा रहेको छ। तर, गत आवमा कम्पनीले १९ हजार ४६८ वटा बीमालेखमा दावी भुक्तानी दिएको हो ।
गत आवमा दिएको दावी भुक्तानी कोरोना बीमासहितको हो । कम्पनीका अनुसार गत आवमा कोरोना बीमाको ५ हजार बीमालेखमा ५ लाख २० हजार रुपैयाँ भुक्तानी दिएको हो । कोभिडसहित पुरानो भुक्तानी हुन् दाबी बीमालेख १० हजार ८८९ वटा थियो । कम्पनीको व्यापारमा पनि बढोत्तरी देखिएको छ। कम्पनीले गत आवमा ३ अर्ब ६५ करोड बढीको व्यापार गरेका छ।













