८ श्रावण २०८३, शुक्रबार

वैदेशिक रोजगार बीमा: एकै महिना कम्पनीहरुले बेचे ५८ हजार पोलिसी, कुनको प्रिमियम कलेक्सन कस्तो ?



काठमाडौं । एक महिनामै वैदेशिक रोजगार बीमा मार्फत कम्पनीहरुले साढे २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो (साउन) महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

साउनमा वैदेशिक रोजगार बीमा मार्फत २४ करोड ७२ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ । एकै महिना कम्पनीहरुले ५८ हजार ७९८ वटा बीमालेख जारी गरि सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ । पछिल्लो समय वैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ । हाल वैदेशिक रोजगार बीमाको कुल २१ लाख ४ हजार ९७४ वटा बीमालेख सक्रिय देखिएको छ।

हाल नेशनल लाइफ, नेपाल, एशियन, आइएमई, सन नेपाल, रिलायवल, सिटिजन, सूर्यज्योति , सानिमा रिलायन्स र प्रभु महालक्ष्मी लाइफले वैदेशिक रोजगार बीमा व्यवसाय गर्दै आएका छन् ।

साउनमा यस्तो बीमा मार्फत सबैभन्दा धेरै सन नेपाल लाइफले ११ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २७ हजार ८७६ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । हाल कम्पनीसँग ६ लाख ७८ हजार ४४२ वटा बीमालेख सक्रिया देखिएको छ।

यस्तै, एशियन लाइफले पनि साउनमा १२ हजार ४३७ वटा बीमालेख बिक्री गरि ५ करोड ३१ लाख ४६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै, नेशन लाइफले १ करोड ९५ लाख, सानिमा रिलायन्सले १ करोड ३४ लाख, नेपाल लाइफले १ करोड ३३ लाख, सूर्यज्योति १ करोड २१ लाख रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमा मार्फत संकलन गरेका छन् ।

यता, रिलायवल नेपाल लाइफले ९० लाख, सिटिजनले ८१ लाख, आइएमई ८ लाख ६० हजार, प्रभु महालक्ष्मीले ६३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्