यो वर्षको ‘डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार’ रिजाललाई

काठमाडौं । यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका आर्थिक ब्युरो प्रमुख कृष्ण रिजाललाई प्रदान गरिएको छ ।
लघुवित्तका पिता भनेर सुपरिचित स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको एक लाख रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष रिजालले प्राप्त गरेका हुन् । स्वर्गीय पन्तको नवौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा डा. हरिहरदेव पन्त फाउन्डेशनका अध्यक्ष जनार्दन देव पन्तले रिजललाई सम्मानपत्र एवम् पुरस्कार राशीको चेक प्रदान गरे ।
देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवद्र्धक डा. पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो । डा. हरिहरदेव पन्त फाउन्डेसनले प्रत्येक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
देशको सर्वांगीण तथा आर्थिक क्षेत्रको विकासका लागि राज्यको चौथो अंग पत्रकारिता जगतले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमध्यम तथा लेखनमार्फत आम जनस्तरलाई सुसूचित गराउन खेलेको महत्त्वपूर्ण योगदानको कदर गर्दै फाउन्डेसनले यो पुरस्कार प्रदान गर्दै आएको छ । रिजाल विगत डेढ दशकदेखि आर्थिक पत्रकारितामा सक्रिय छन् ।