विदेशी विनियम सञ्चिति साढे २१ खर्ब नाघ्यो, १३ महिनाको आयात धान्ने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामै विदेशी विनियम सञ्चिति साढे २१ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार भदौ मसान्तसम्म यस्तो सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो । समीक्षा अवधिमा कुल विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशतले बढेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५ प्रतिशतले बढेर १६ अर्ब ४ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब २३ अर्ब ५३ करोड कायम भएको छ ।
यो सञ्चितिले १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । विदेशी विनियम सञ्चिति निरन्तर वृद्धि भएको र आयातमा वृद्धि नहुँदा सञ्चिति पर्याप्तता सूचक पनि बढ्दै गएको छ ।
२०८१ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगको अनुपात ३७.७ प्रतिशत, कुल आयातसँगको अनुपात ११४.४ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३०.८ प्रतिशत छ ।