खाता रोक्का-फुकुवासम्बन्धी विनियमावली संशोधन, थपिए यी व्यवस्था « Arthapath.com
३० आश्विन २०८१, बुधबार

खाता रोक्का-फुकुवासम्बन्धी विनियमावली संशोधन, थपिए यी व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली-२०८१ को प्रथम संशोधन सहितको संशोधित विनियमावली’ जारी गरेको छ ।

संशोधित विनियमावलीमा खाता रोक्का वा फुकुवासम्बन्धी प्रक्रियामा केही थप गरिएको छ । यसअघिको व्यवस्थामा सम्बन्धित विशेष ऐनले तोकेको अधिकार प्रयोग गरी अख्तियारप्राप्त निकायले इजाजतपत्रप्राप्त संस्थामा गरेको पत्राचार बमोजिम सोझै खाता रोक्का वा फुकुवा गर्न यस व्यवस्थाले बाधा नपर्ने जनाएको छ । त्यस्तो पत्राचार बमोजिम कुनै खाता रोक्का वा फुकुवा भएमा सोको जानकारी इजाजतपत्रप्राप्त संस्थाले राष्ट्र बैंकलाई तत्काल उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

बैंक खाता फुकुवा गरिने सम्बन्धमा ‘खाता फुकुवा गरिएको जानकारी राष्ट्र बैंकलाई तत्काल उपलब्ध गराउनुपर्नेछ’व्यवस्था थप गरिएको छ । राष्ट्र बैंकले अल्पकालीन अवधिको लागि खाता रोक्का गर्ने व्यवस्था समेत गरेको छ ।

विनियमावलीमा प्र्रचलित कानून बमोजिम अख्तियारप्राप्त अधिकारीले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाको खाताको विवरण इजाजतपत्रप्राप्त संस्थालाई पत्राचार गरी सोझै माग गर्न सक्ने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्