नेपालको वैदेशिक व्यापारमा सुधार, आयात र निर्यात दुवै बढ्यो « Arthapath.com
२ श्रावण २०८३, शनिबार

नेपालको वैदेशिक व्यापारमा सुधार, आयात र निर्यात दुवै बढ्यो



काठमाडौं । नेपालको वैदेशिक व्यापारमा सुधार देखिएको छ । निकै लामो समयदेखि घटी रहेका आयात र निर्यात बढेको छ ।

भन्सार विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

सो अवधिमा आयात ३ प्रतिशत र निर्यात साढे १६ प्रतिशत वृद्धि भएको छ । चालु आवको पाँच महिनामा नेपालले कुल ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको आयात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३ प्रतिशत बढी हो । गत आवको मंसिर मसान्तसम्ममा कुल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

समिक्षा अवधिमा निर्यात १६.५४ प्रतिशत बढेर ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । गत आवको पहिलो पाँच महिनामा नेपालबाट ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो ।

विभागका अनुसार पाँच महिनामा नेपालले कुल ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यो गत आवको मंसिर मसान्तसम्मको तुलनामा भने ४.२१ प्रतिशत बढी हो ।

तर, पाँच महिनामा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । आयातको तुलनामा निर्यात रकम न्यून हुँदा सो बराबरको व्यापार घाटा व्यहोरेको हो ।


प्रतिक्रिया दिनुहोस्