ख्रिष्टियन धर्मका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको निधन « Arthapath.com
८ बैशाख २०८२, सोमबार

ख्रिष्टियन धर्मका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको निधन



काठमाडौं । इसाई धर्मका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको सोमबार बिहान निधन भएको छ। ‘कार्डिनल’ भनिने रोमन क्याथोलिक चर्चका एक बरिष्ठ पदाधिकारी केभिन फारेलले पोपको मृत्युको घोषणा गरेका छन् ।

पोप फ्रान्सिसले स्थानीय रोमन समय अनुसार बिहान ७ः३५ (नेपाली समय अनुसार विहान ११ः२०) बजे अन्तिम सास फेरेको फारेलले आफ्नो घोषणामा भनेका छन्।

इसाईहरुको मूल तीर्थ क्षेत्र भ्याटिकन सिटीमा ‘धार्मिक राजतन्त्र’ चल्छ । त्यहाँ शीर्ष धर्मगुरु अर्थात् पोप नै राजाको भूमिकामा रहन्छन् । फ्रान्सिस सन् २०१३ देखि पोप र भ्याटिकनको ‘सोभरेन’ अर्थात् राजा रहँदै आएका थिए ।

पोप फ्रान्सिस क्याथोलिक चर्चहरूमा सुधारका लागि पनि परिचित छन्। यसको बावजुद, पोप परम्परावादीहरूमाझ पनि लोकप्रिय थिए।

८८ वर्षअघि अर्जेन्टिनामा जन्मिएका फ्रान्सिस ल्याटिन अमेरिकाका पहिलो पोप थिए। ईसाई धर्ममा मूलतः तीन शाखा छन् । रोमन क्याथोलिक सबैभन्दा पुरानो र ठूलो शाखा हो । विश्वका आधा क्रिश्चियन अर्थात् करीब १ अर्ब ४० करोड मानिसहरु क्याथोलिक चर्चलाई मान्छन् । उनीहरुको राजा र धर्मगुरु पोप हुन्छ ।

अहिले पनि दक्षिण अमेरिकामा अधिकतर क्रिश्चियनहरु क्याथोलिक धर्म मान्छन् । इटली, पोर्चुगल, स्पेन, फ्रान्स, पोल्याण्ड र केही पूर्वी युरोपका मुलुकमा पनि बहुसंख्यक क्याथोकिल छन् । मेक्सिकोमा पनि क्याथोलिककै वाहुल्यता छ । नेपालमा पनि कुल जनसंख्याको ०.०३ प्रतिशत क्याथोलिक रहेको बताइन्छ ।

अमेरिकामा प्रोटेस्टेन्ट र रूस, युक्रेन तथा पूर्वी युरोपमा अर्थोडक्स जनसंख्या ज्यादा छ । संसारको कुल क्रिश्चियनमध्ये आधा क्याथोलिक, ३७ प्रतिशत प्रोटेस्टेन्ट, १२ प्रतिशत अर्थोडक्स र १ प्रतिशत ‘अन्य’ रहेको बताइन्छ ।

क्याथोकिलमा पोपजस्तो ‘परमेश्वरको अवतार’ मानिने सर्वोच्च धर्मगुरुको अभ्यास इसाईका अन्य शाखामा छैन । प्रोटेस्टेन्ट आन्दोलन नै पोपको सर्वोच्चता विरुद्ध भएको थियो र उनीहरु स्वायत्ततामा जोड दिन्छन् । अर्थाडक्समा चाहीँ ‘पेट्रियाक’ अर्थात् कुलपति भन्ने पद हुन्छ । जस्तै पेट्रियाक अफ मस्को, पेट्रियाक अफ जेरुसेलम, पेट्रियाक अफ अलेक्जेड्रिया वा पेट्रियाक अफ एण्टिवक ।


प्रतिक्रिया दिनुहोस्