व्यापारमा सशक्त शिखर इन्स्योरेन्सले कमायो साढे ३५ करोड नाफा, इपिएस र नेटवर्थ पनि दरिलो

काठमाडौं । निर्जीवन बीमा व्यापारमा नम्बर वानको ताज कायमै राखेको शिखर इन्स्योरेन्स कम्पनीले साढे ३५ करोड बढी नाफा कमाएको छ ।
सोमबार कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चैत मसान्तसम्म आइपुग्दा कम्पनीले ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा भने १.७९ प्रतिशत धेरै हो । गत आवको तेस्रो त्रैमासमा पनि कम्पनीले ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
नाफा वृद्धिदर सुस्त देखिए पनि कम्पनीको व्यापार भने दोहोरो अंकमै बढेको छ । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १६.५७ प्रतिशत वृद्धि भई १ अर्ब २० करोड ८३ लाख रुपैयाँ पुगेको छ । जबकि, गत वर्षको सोही अवधिमा भने यस्तो बीमा शुल्क १ अर्ब ३ करोड ६६ लाख १० हजार रुपैयाँ रहेको थियो ।
तर, कम्पनीको लगानी तथा कर्जा र कमिसन लगायतको आम्दानीमा भने केही गिरावट देखिन्छ । जसका कारण नाफा वृद्धिदरमा दबाब परेको हो । समिक्षा अवधिमा कम्पनीको कमिसन बापतको आम्दानी ६.७२ प्रतिशत घटेर ४० करोड रुपैयाँ कायम भएको छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १८.७७ प्रतिशत घटेर २० करोड ९९ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको कुल आम्दानी ६.८४ प्रतिशत वृद्धि भई १ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । यता, कुल खर्च भने १०.७१ प्रतिशत बढेर १ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको दावी भुक्तानी पनि २५.३९ प्रतिशत वृद्धि भएको देखिन्छ । ९ महिनामा कम्पनीले ७१ करोड ५० लाख रुपैयाँ खुद दावी भुक्तानी दिएको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १६.२९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९५.८१ रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ छ ।