सलिकोको नाफा २५ करोड माथि, लगानी र जगेडा कोषले देखायो वित्तीय मजबूती

काठमाडौं । सगरमाथा लुम्बिनी कम्पनी (सलिको) ले २५ करोड बढी नाफा कमाएको छ ।
सोमबार कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चैत मसान्तसम्म आइपुग्दा कम्पनीले २५ करोड १९ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, यो नाफा गत वर्षको तुलनामा भने ४७ प्रतिशत कमी हो । गत आवको तेस्रो त्रैमासमा पनि कम्पनीले ४७ करोड ५४ लाख ६ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ५.९२ प्रतिशत घटेर १ अर्ब २९ करोड २४ लाख रुपैयाँ पुगेको छ । जबकि, गत वर्षको सोही अवधिमा भने यस्तो बीमा शुल्क १ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको कमिसन बापतको आम्दानी भने ३३.१८ प्रतिशत बढेर ३९ करोड २३ लाख रुपैयाँ कायम भएको छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २१.९५ प्रतिशत घटेर २९ करोड २ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको कुल आम्दानी १.५५ प्रतिशत वृद्धि भई २ अर्ब ९ करोड १३ लाख रुपैयाँ कायम भएको छ । यता, कुल खर्च भने २५.४४ प्रतिशत बढेर १ अर्ब ७३ करोड १३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको दावी भुक्तानी पनि ४६.५० प्रतिशत वृद्धि भएको देखिन्छ । ९ महिनामा कम्पनीले १ अर्ब १४ करोड १३ लाख रुपैयाँ खुद दावी भुक्तानी दिएको छ ।
कम्पनीको लगानी भने ५.८७ प्रतिशत वृद्धि भई ६ अर्ब ७७ कोड ८८ लाख रुपैयाँ पुर्याएको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ छ ।
कम्पनीले विशेष जगेडा कोषमा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ राखेको छ भने विपत्ति कोषमा २१ करोड ४१ लाख रुपैयाँ राखेको छ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १२.८१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४८.८२ रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ छ ।