छ्याङ्दी हाइड्रोपावरले जेठ २३ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा असार १२ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बेसीशहर, सुन्दरबजार –६ मिलनचोक, भोर्लेटार–८ बसपार्क, सिउँडीबार सुन्दरबजार–९, उदिपुर र दोर्दी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
हाल कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।