जीवन बीमा कर्मचारीको खुसीमा नयाँ उचाइ : अधिकांश कम्पनीले बढाए बोनस, कसको घट्यो–कसको बढ्यो ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुका कर्मचारीको भत्ता तथा बोनस झन्डै ५ प्रतिशत वृद्धि भएको छ । ठुला जीवन बीमा कम्पनीहरुले आफ्ना कर्माचरीहरुको बोनस व्यवस्थाका लागि साढे ४ अर्ब छुट्याएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म आइपुग्दा कम्पनीहरुले ४ अर्ब ६७ करोड ६७ लाख रुपैयाँ कर्मचारी बोनस व्यवस्थाका लागि खर्चिएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ४.८६ प्रतिशत धेरै हो । गत आवमा कम्पनीहरुले ४ अर्ब ४३ करोड १२ लाख रुपैयाँ छुट्याएका थिए ।
बीमा कम्पनीहरूले खुद मुनाफाको १० प्रतिशत कर्मचारीका लागि छुटाउने पर्ने व्यवस्था छ । बोनस ऐन अनुसार नै कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसको प्रतिशत खुद मुनाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख छ । सोही बमोजिम बीमा कम्पनीहरूले कर्मचारी बोनस व्यवस्था बापत सो रकम छुट्ट्याएका हुन् ।
कम्पनीहरूले कर्मचारीको मनोबल बढाउने र मानव स्रोतको सुदृढीकरणतर्फ थप प्राथमिकता दिएको संकेत देखिएको छ । हाल जीवन बीमा कम्पनीहरुमा ६ हजार ५५ जना कर्मचारी छन् ।
अधिकांश कम्पनीहरुले कर्मचारीको बोनसमा खर्चिने रकम बढाएका छन् । १४ वटामध्ये तीन कम्पनीले घटाएका छन् । तर, अन्य कम्पनीको भने वृद्धि भएको छ ।
सबैभन्दा धेरै बोनस राष्ट्रिय जीवन बीमा कम्पनीको वृद्धि भएको छ । कम्पनीले कर्मचारी बोनसमा खर्चिने रकम झन्डै ३० गुणा बढाएको छ । ९ महिनामा कम्पनीले यस्तो व्यवस्थाका लागि ७ करोड ६ लाख रुपैयाँ छुट्याएको हो ।
आइएमई लाइफले पनि २८.४४ प्रतिशत बढाएर २७ करोड ७५ करोड पुर्याएको छ । कम्पनीले गत आवको ९ महिनामा कम्पनी २१ करोड ६० लाख रुपैयाँ बोनस छुट्याएको थियो ।
यस्तै, रिलायवल नेपाल लाइफले पनि १५.३८ प्रतिशत, मेट लाइफले १२.७० प्रतिशत, एलआइसी नेपालले १२.०३ प्रतिशत, सन नेपाल लाइफले ११.०८ प्रतिशत बढाएका छन् । समिक्षा अवधिमा कम्पनीहरुले आफ्ना कर्मचारी बोनसका लागि क्रमशः २४ करोड ८६ लाख, २६ करोड ४६ लाख, २८ करोड १० लाख र २६ करोड ४९ लाख रुपैयाँ खर्चिएका छन् ।
रकमका आधारमा भने सबैभन्दा धेरै हिमालन लाइफले ६८ करोड २३ लाख रुपैयाँ छुट्याएको छ । यो गत वर्षको तुलनामा ५.९४ प्रतिशत धेरै हो ।
यता, सिटिजन लाइफले २६ करोड २ लाख, एशियन लाइफले २४ करोड १४ लाख, नेशनल लाइफले ३७ करोड २२ लाख र सूर्यज्योति फाइफले ४८ करोड ११ लाख रुपैयाँ छुट्याएका छन् ।
कर्मचारीको बोनस गत वर्षको तुलनामा प्रभू महालक्ष्मी, सानिमा रिलायन्स र नेपाल लाइफको भने घटेको छ । समिक्षा अवधिमा प्रभू महालक्ष्मीले कर्मचारी बोनसका लागि २८ करोड ६८ लाख, सानिमाले ३४ करोड २२ लाख र नेपाल लाइफले ५७ करोड २८ लाख रुपैयाँ छुट्याएको छ । गत वर्षको तुलनामा भने क्रमशः १५.९५ प्रतिशत, १३.७३ प्रतिशत र ०.५५ प्रतिशत कमी हो ।
कुन कम्पनीको कर्मचारी बोनस खर्च कति ?
