आँबुखैरेनीमा १५ र चितवनमा १०० शय्याको अस्पताल निर्माण हुने, सरकारी जग्गा प्रयोग गर्न स्वीकृति « Arthapath.com
४ असार २०८२, बुधबार

आँबुखैरेनीमा १५ र चितवनमा १०० शय्याको अस्पताल निर्माण हुने, सरकारी जग्गा प्रयोग गर्न स्वीकृति



काठमाडौं । सरकारले दुई स्थानमा अस्पताल निर्माणक लागि सरकारी स्वामित्वको जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ ।

सार्वजनिक हितका लागि तनहुँ र चितवनमा अस्पताल निर्माणका लागि जग्गा प्रयोग गर्न स्वीकृति दिएको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले यी दुई जिल्लामा अस्पताल निर्माणका लागि आवश्यक जग्गा स्थानीय तह तथा सम्बन्धित स्वास्थ्य संस्थालाई प्रयोग गर्न दिने निर्णय गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत अगाडि बढाइएको प्रस्तावअनुसार मन्त्रिपरिषदले यी निर्णय गरेको हो ।

आँबुखैरेनी गाउँपालिका, तनहुँमा १५ शय्याको अस्पताल निर्माणका लागि नेपाल सरकारको नाममा दर्ता रहेको १० रोपनी जग्गा प्रयोग गर्न दिने स्वीकृति प्रदान गरेको छ ।

यता, चितवनस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई १०० शय्याको आयुर्वेद अस्पताल निर्माणका लागि २ बिघा १३ कट्ठा १५ धुर सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न स्वीकृति दिइएको हो ।


प्रतिक्रिया दिनुहोस्