चेक अनादर मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडाैं । एक करोड १५ लाख रुपैयाँ बराबरको चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी विरेन्द्र खत्री पक्राउ परेका छन् ।
नेक्स्ट डोर कन्स्ट्रक्सन प्रालिको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी विरेन्द्र खत्रीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।
वादी मन बहादुर गुरुङको नाममा २०८१ साउन २५ गते चेक जारी गरी अनादर गरेको पुष्टि भएपछि काठमाडौं जिल्ला अदालतले प्रतिवादी खत्रीलाई रु १ करोड १५ लाख रुपैयाँ बिगो तथा सो रकमको ब्याजसहित भराउन आदेश दिएको थियो। सो आदेशअनुसार बिगो तिर्न असफल भएपछि अदालतले २०८१ चैत २९ गते खत्रीलाई दुई वर्ष कैद सजाय सुनाएको थियो।
तर फैसला पश्चात फरार रहेका उनलाई प्रहरीको टोलीले असार ४ गते भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका–५, कटुन्जे क्षेत्रबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको हो।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ स्थायी ठेगाना भएका ४० वर्षीय खत्रीविरुद्ध फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।