व्यवसायमा विस्तारमा एग्रेसिभ देखिए बैंकहरु, निक्षेप र कर्जाको ‘रेस’मा कसले कसलाई उछिने ?

काठमाडौं । निकै लामो समयदेखि सुस्ताएको आर्थिक गतिविधि अब विस्तारै चलायमान भएको संकेत देखिन थालेको छ ।
पछिल्लो सयम निक्षेप संकलन र कर्जा प्रवाह दुबै उकालो लागेका छन् । केही समयदेखि बैंकहरूमा ‘लगानीयोग्य रकम थुप्रिएको बसेको अवस्था थियो । तर, कर्जाको माग नै नभएको देखिन्थ्यो । तर, अब बजारको चाल अलि फेरिएको छ । निक्षेप संकलन निरन्तर बढेको छ, सोही दरमा कर्जा प्रवाह पनि वृद्धि भएको देखिन्छ ।
चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा २० वटा बैंकहरुको निक्षेप संकलन ५ खर्ब ३ करोड ३९ करोड रुपैयाँ वृद्धि भएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको चालु आवको जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
८.७५ प्रतिशत बढ्यो निक्षेप, कसले कति संकलन गरे ?
गत वर्षको असार मसान्तदेखि गत जेठ अन्तसम्म आइपुग्दा बैंकहरुको कुन निक्षेप ८.७५ प्रतिशत वृद्धि भएको छ । समिक्षा अवधिमा यस्तो निक्षेप ६२ खर्ब ५८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । जबकि, गत असार मसान्तसम्म बैंकहरुसँग ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
अधिकांश बैंकहरुको निक्षेप संकलन बढेको छ । तर, एनआइसी एशियाको मात्रै १६.१३ प्रतिशत घटेको देखिन्छ । निक्षेप बढाउने मामलामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक शीर्ष सूचीमा छ । बैंकको निक्षेप ६० अर्ब ३७ करोड रुपैयाँ बढेर ४ खर्ब ६७ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ ।
दोस्रो सूचीमा रहेको ग्लोबल आइएमई बैंकको निक्षेप पनि ४९ अर्ब ४० करोड रुपैयाँ बढेर ५ खर्ब ५४ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ ।
यस्तै, एनएमबि बैंकको निक्षेप पनि ४९ अर्ब ५२ करोड, एभरेष्टको ४७ अर्ब ५८ करोड, नबिलको ४४ अर्ब ७९ करोड र नेपाल बैंकको ४१ अर्ब ६ करोड बढेर क्रमशः २ खर्ब ७५ अर्ब ६२ करोड, २ खर्ब ८० अर्ब ८७ करोड ५ खर्ब १३ अर्ब ५५ करोड र ३ खर्ब २४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
यता, प्राइम बैंकको निक्षेप पनि ३९ अर्ब २९ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३८ अर्ब ६२ करोड, कृषि विकासको २६ अर्ब ६६ करोड, लक्ष्मी सनराइजको २४ अर्ब ८१ करोड, सानिमको २१ अर्ब २९ करोड, नेपाल एसबिआईको १९ अर्ब ३१ करोड, सिद्धार्थको १८ अर्ब ८६ करोड, प्रभूको १८ अर्ब ८६ करोड, माछापुच्छ्रेको १४ अर्ब ५७ करोड, सिटिजनको १३ अर्ब ६८ करोड, स्ट्यान्डर्ड चार्टर्डको १३ अर्ब १० करोड, कुमारीको ११ अर्ब ११ करोड र हिमालन बैंकको १० अर्ब १८ करोड रुपैयाँ बढेको छ ।

८.२३ प्रतिशत बढ्यो कर्जा प्रवाह, कसले कति दिए ऋण ?
निक्षेप संकलनसँगै कर्जा प्रवाह पनि बढ्दो देखिएको छ । समिक्षा अवधिमा बैंकहरुले कुल कर्जा प्रवाह ८.२३ प्रतिशत अर्थात् ३ खर्ब ७६ अर्ब २९ करोड रुपैयाँ बढेको छ । गत वर्षको असार मसान्तसम्म बैंकहरुले कुल ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, गत जेठ मसान्तसम्म आइपुग्दा भने ४९ खर्ब ४७ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यसले अधिक तरलताको दबाबमा रहेका बैंकहरूलाई राहत दिएको छ ।
पछिल्लो समय मुलुकको आयातमा देखिएको बढोत्तरीले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सकारात्मक असर पार्न थालेको छ । विशेषगरी सेवा र औद्योगिक क्षेत्रका व्यवसायीहरू आयातका लागि कर्जा लिँदै गर्दा लामो समयदेखि तरलता व्यवस्थापनमा संघर्ष गरिरहेका बैंकहरूलाई केही सहजता मिलेको देखिन्छ ।
निर्माण, उद्योग र कृषि क्षेत्रमा समेत कर्जा माग बिस्तारै बढ्न थालेको छ । बैंकहरूबीच प्रतिस्पर्धी ब्याजदरको वातावरण निर्माण हुँदै गएको छ । निरन्तर घट्दो ब्याज दरका कारण व्यवसायीहरूलाई कर्जा लिन प्रोत्साहन गरेको देखिन्छ । कर्जा माग वृद्धिले बैंकिङ बजारमा आंशिक गति ल्याएको संकेत गरेको छ ।
समिक्षा अवधिमा अधिकांश बैंकको कर्जा प्रवाह वृद्धि भएको छ । तर, एनआइसी एशिया र कुमारी बैंकको भने क्रमशः ४५ अर्ब ३५ करोड र ५ अर्ब ६९ करोड रुपैयाँ घटेको छ । यी बाहेक सबै बैंकले कर्जा प्रवाह बढाएका छन् ।
कर्जा प्रवाह बढाउने मामलामा ग्लोबल आइएमई बैंक पहिलो सूचीमा छ । समिक्षा अवधिमा बैंकको कर्जा प्रवाह ५१ अर्ब ५ करोड रुपैयाँ वृद्धि भई ४ खर्ब ४१ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । दोस्रो सूचीमा रहेको नबिलको भने ४० अर्ब ९२ करोड रुपैयाँ वृद्धि भएको छ । बैंकको कुल कर्जा प्रवाह ४ खर्ब २९ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकको कर्जा प्रवाह ३८ अर्ब ६८ करोड, एभरेष्टको ३७ अर्ब ९३ करोड, एनएमबिको ३६ अर्ब ९६ करोड, प्राइमको ३२ अर्ब ५७ करोड, लक्ष्मी सनराइजको ३१ अर्ब ५९ करोड, एनआइएमबिको २७ अर्ब ६४ करोड, नेपाल बैंकको २५ अर्ब ९१ करोड, सानिमाको २० अर्ब ९० करोड, सिद्धार्थको १९ अर्ब ७ करोड, माछापुच्छ्रेको १७ अर्ब ४२ करोड रुपैयाँ बढेको छ । यता, नेपाल एसबिआईको ९ अर्ब १८ करोड, कृषि विकासको ९ अर्ब ५ करोड, हिमालयनको ८ अर्ब १ करोड, स्ट्याण्डर्डको १ अर्ब ९० करोड र प्रभूको ५४ करोड रुपैयाँ मात्रै बढेको छ ।
