आठ गुणा बढ्यो लघु जीवन बीमा व्यवसाय, कसले कतिको व्यापार गरे ?

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुको व्यवसायको आकार १ अर्ब नाघेको छ ।
नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
११ महिनामा कम्पनीहरुले १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको तुलनामा भने ८.२७ गुणा बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीहरुले १३ करोड २७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए । हाल गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिवर्टी माइक्रो लाइफ गरि तीन लघु जीवन बीमा कम्पनी संचालनमा छन् ।
ती कम्पनीहरुले ११ महिनामा कुल ६३ करोड ६० लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् । यस्तै, वैदेशिक रोजगार बीमा मार्फत ४४ करोड ५ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । यता, नविकरण मार्फत भने कम्पनीले २ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ ।
व्यवसायमा गार्डियन माइक्रो लाइफ नै पहिलो बनेको छ । कम्पनीले ११ महिनामा ४१ करोड ३६ लाख रुपैयाँ बराबरको व्यावसाय गरेको हो । समिक्षा अवधिमा कम्पनीले २६ करोड १८ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ । यता, वैदेशिक रोजगार मार्फत १४ करोड ६८ लाख र नविकरण मार्फत ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै, क्रेष्ट माइक्रो लाइफले पनि ३९ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले प्रथम बीमा शुल्क मार्फत २४ करोड ५५ लाख, वैदेशिक रोजगार बीमा मार्फत १४ करोड ६८ लाख र नविकरण मार्फत ७० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यता, लिवर्टी माइक्रो लाइफले पनि ११ महिनामा २८ करोड ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेकोछ। कम्पनीले १३ करोड ८६ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको छ । कम्पनीले वैदेशिक रोजगार बीमा मार्फत १४ करोड ६८ लाख रुपैयाँ र नविकरण मार्फत ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
हाल गार्डियनमा ११ लाख २० हजार ६८५ वटा, क्रेष्टमा ३ लाख ९४ हजार ४०१ र लिवर्टी माइक्रोमा १ लाख ४७ हजार २४० वटा बीमालेख सक्रिय छन् ।