बीवाईडी र टेस्लालाई टक्कर दिनेगरी चीनमा उदायो साओमी मोटर, ७२ घण्टामा ३ लाख+ अर्डर

काठमाडौँ । नेपालमा निकै लोकप्रिय मोबाइल ब्राण्ड हो साओमी । उक्त चिनियाँ कम्पनीले अब विद्युतीय गाडीको बजारमा प्रवेश गरेको छ । उसले गत विहीबार बहुप्रतीक्षित यू७ (YU7) एसयूभी लञ्च गर्यो ।
यो गाडी लञ्च भएको पहिलो १८ घण्टाभित्र २ लाख ४० हजार लक इन अर्डर (फिर्ता गर्न नपाइने खालको खरीद आदेश) हासिल भएको कम्पनीले जनाएको छ । यो गाडी लञ्च भएको ७२ घण्टा बित्दासम्म ३ लाख १५ हजार ९०० अर्डर प्राप्त भएको छ, त्यो पनि अनलाइन विक्रीभन्दा बाहेक ।
यो अर्डर देशभरका ३५१ खुद्रा विक्री केन्द्र (रिटेल आउटलेट)हरुबाट प्राप्त भएको कारन्यूजचाइनाले जनाएको छ । ती स्टोरमा गाडी हेर्न आउनेमध्ये ७५ देखि ८० प्रतिशत मानिसहरुले ‘लकइन अर्डर’ दिएको खबरमा उल्लेख छ ।
चीन भरिका साओमीका प्रत्येक आउटलेटहरुले ८०० देखि ९०० को अनुपातमा गाडीको अर्डर हासिल गरेका छन् । यसरी अर्डर दिनेहरुमा शहरी क्षेत्रका युवाको वाहुल्यता रहेको बताइएको छ । २२ देखि ३५ वर्ष उमेर समूहका पुरुषको संख्या नै यो गाडी बूक गर्ने कुल संख्याको ५५ प्रतिशत रहेको समाचारमा बताइएको छ ।
त्यस्तै, नयाँ गाडी बूक गर्नेमध्ये करीब ६० देखि ७० प्रतिशत मानिसहरु पुरानो कार एक्सचेञ्ज वा अपग्रेड गर्ने सोचमा देखिएको पनि खबरमा भनिएको छ ।
गाडी खरीदकर्ताहरुमध्ये ५५ प्रतिशतले यू७ को ‘बेस भेरियन्ट’ मन पराएका छन् । यो गाडीको भाऊ चीनमा २ लाख ५३ हजार ५०० युआन (रू. ४८ लाख १७ हजार) पर्छ । २५ प्रतिशत खरीदकर्ताले भने यू७ प्रो भर्सन रोजेका छन् । यो गाडीको भाउ २ लाख ७९ हजार ९०० युआन (रू. ५३ लाख २० हजार) छ । बाँकी २० प्रतिशतले सबैभन्दा प्रिमियम भर्सन यू७ म्याक्स रोजेका छन् । यसको भाउ चाहीँ ३ लाख २९ हजार ९०० युआन (रू. ६२ लाख ७० हजार) छ ।

खरीदकर्ताले यी गाडीका लागि १६ देखि २० हजार युआन (करिब रू. ३ देखि ४ लाख) अतिरिक्त फिचर्सका लागि खर्च गरिरहेको पनि कारन्यूजचाइनाले लेखेको छ ।
यो नयाँ ब्राण्डको गाडीमा आकर्षण यति धेरै बढ्यो की, अहिलेसम्म अर्डर भइसकेका गाडीको डेलिभरी गर्न ठाउँ अनुसार कम्पनीलाई ३३ देखि ५६ हप्ता लाग्ने अनुमान गरिएको छ । अर्थात्, अहिले अर्डर गरेको गाडी पान अझै एक वर्षभन्दा बढी समय पनि कुर्नुपर्ने हुनसक्छ ।
कम्पनीले आफ्नो स्मार्टफोन रिटेल नेटवर्ककै आधारमा देशभर गाडीको खुद्रा विक्री केन्द्रहरु स्थापना गरेर ब्यापक अर्डर हासिल गरेपछि यसलाई चीनका अन्य ‘न्यू इनर्जी भेहिकल्स’ उत्पादक स्टार्टअपहरुका साथै बीवाईडी जस्तो विशाल ब्राण्ड विरुद्ध बलियो प्रतिस्पर्धीका रुपमा हेर्न थालिएको छ ।

बीवाईडीसँग तुलना
शेञ्जेनमा आधारित अटोमेकर बीवाईडीले गत अप्रिलमा आफ्नो ‘फ्ल्यागशिप एसयूभी’ लञ्च गर्यो, जसको नाम हो, ‘बीवाईडी ट्याङ एल’ (BYD Tang L)। सामान्य हालतमा जसरी हजारौं प्रिअर्डर र मूलधारका मिडियामा भव्य ब्राण्डिङलाई पुरापुर बिर्सिएर उसले लञ्च गरेको उक्त गाडीमा अल्ट्रा–फास्ट चार्जिङ सुविधा दिइएको छ । जसकारण ३७० किलोमिटर रेञ्जका निम्ति केवल ५ मिनेट चार्ज गरे पुग्ने भएको छ ।
बीवाईडीको उक्त गाडीको भाऊ चीनमा २ लाख ३९ हजार ८०० (रू. ४५ लाख ५७ हजार) बाट सुरु हुन्छ । यो भनेको यू७ भन्दा निकै सस्तो हो । यो गाडी ‘रियर ह्विल ड्राइभ’मा आएको छ । यसमा ५०० किलोवाटको शक्तिशाली मोर्टर जडान गरिएको छ, जुन एक मिनेटमा ३०,५११ पल्ट घुम्छ । यसलाई आरपीएम भनिन्छ ।
बीवाईडीको उक्त गाडीको अधिकतम गति २४० किमी प्रतिघण्टा हो । यसमा एउटा वैकल्पिक ‘ड्रोन डकिङ स्टेशन’ राखिएको छ, जहाँ तैनाथ ड्रोनलाई गाडीभित्रबाट एउटा स्वीच दबाउने बित्तिकै उडाउन सकिन्छ ।
यता साओमीको यू७ कार पनि ‘रियर ह्विल ड्राइभ’ मै आएको छ । यसमा २३५ किलोवाटको मोटर जडान गरिएको छ, जुन एक मिनेटमा २२ हजार पल्ट घुम्नसक्छ । तर यो गाडीको अधिकतमक गति पनि २४० किमि नै हो ।
बीवाईडीको गाडीमा १००.५ किलोवाट घण्टाको एलएफपी ब्लेड ब्याट्री लगाइएको छ । यसले ६७० किलोमिटर रेञ्ज दिने र उक्त ब्याट्री ०–१०० प्रतिशत चार्ज गर्न केवल २९ मिनेट ४२ सेकेन्ड लाग्ने बताइएको छ ।

यू७ मा भने क्याटलले उत्पादन गरेको ९६.३ किलोवाटघण्टाको लिथियमआइनरफोस्फेट (एलएफपी) ब्याट्री लगाइएको छ, जसको अधिकतम रेञ्ज ८३५ किलोमिटर छ । यो ब्याट्री २१ मिनेटमा १० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ भने १५ मिनेटको चार्जिङबाट ४६५ किलोमिटर थप गुड्न सकिन्छ ।
असिस्टेड ड्राइभिङ सिस्टम (एडास)मा भने बीवाईडीले ‘डिपाइलट ३००’ लगाएको छ, जसको इफिसियन्सी २५४ टप्स (ट्रिलियन अपरेशन पर–सेकेन्ड) छ । साओमीले आफ्नै एडास सिस्टक लगाएको छ, यसको इफिसियन्सी ७०० टप्स रहेको छ ।
बीवाईडीको गाडीको आकार ५०४०/१९९६/१७६० मिमि छ भने साओमीको गाडीको आकार ४९९९/१९९६/१६०८ छ । अर्थात् साओमीको गाडी बीवाईडीको तुलनामा ४१ मिमि छोटो र केही होचो छ । ह्विलबेस भने बीवाईडीको २९५० मिमि र साओमीको ३ हजार मिमि छ ।
ट्याङ एलको वजन २,६७५ किलो छ भने यू७ को वजन २,३१५ किलो छ । अर्थात् साओमीको गाडी ३६० किलो कम तौलमा तयार भएको छ ।
ई–प्लेटफर्म, चार्जिङ क्षमता र मोटरपावरजस्ता कुरामा बीवाईडी अगाडी देखिन्छ भने ऊर्जा खपत, कनेक्टिभिटी तथा कयौँ सानासाना कुरामा साओमीको गाडी बढी आकर्षक देखिन्छ । तर साओमीको ‘अन्धभक्त’ समर्थकको विशाल संख्या चीनमा मौजूद छ ।
साओमीको जस्तो ‘फ्यान बेस’ बीवाईडी वा अरु कुनै पनि अटोमेकरले सपनामा पनि पाउन सक्दैन भनेर कारन्यूजले लेखेको छ । राजधानी पैचिङमा मुख्यालय रहेको साओमी अटो र यसका ‘करिस्मेटिक सीईओ’ लेई चुनले वार्षिक १ करोड ईभी बेच्ने महत्वाकांक्षी लक्ष्य हासिल गर्न उक्त उक्त ‘फ्यान बेस’लाई निशंकोच प्रयोग गर्ने ठानिएको छ ।