बतास ट्रयाक्टरको व्यापारमा धमाका, रेटिङमा भने छैन सुधार « Arthapath.com
१७ असार २०८२, मंगलबार

बतास ट्रयाक्टरको व्यापारमा धमाका, रेटिङमा भने छैन सुधार



काठमाडौं । बतास ट्र्याक्टरको व्यापार उकालो लागेको छ । बतास अर्गानाइजेशनद्वारा सञ्चालित कम्पनीले ९ महिनामै ४४ करोड बढीको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२५ को ९ महिनामै ४४ करोड ३० लाख रुपैयाँ बढीको व्यापार गरको हो । इक्रा नेपालका अनुसार यो गत वर्षभरको तुलनामा नै ४५.२४ प्रतिशत बढी हो । गत वर्ष सन् २०२४ मा कम्पनीले ३० करोड ५० लाख रुपैयाँ बराबरको मात्रै व्यापार गरेको थियो ।

कम्पनीको आम्दानी अझै पनि प्रमुख रूपमा ‘क्याट’ ब्रान्डका स्काभेटरमा केन्द्रित रहेको छ । २०२५ को ९ महिनामा भएको कुल आम्दानीमध्ये झण्डै ७० प्रतिशत हिस्सा क्याट ब्रान्डका स्काभेटरबाट आएको कम्पनीले जनाएको छ । तीमध्ये पनि एउटै मोडेलबाट करिब ६२ प्रतिशत आम्दानी भएको देखिन्छ ।

अघिल्लो वर्ष सन् २०२३ मा पनि कम्पनीको व्यापार २६ करोड २० लाख रुपैयाँमा सिमित भएको थियो । तर, पछिल्लो समय कम्पनीले व्यापार बढाउन आक्रामक लागेको देखिन्छ । सन् २०२२ मा ७६ करोड २० लाख र सन् २०२१ मा ७५ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । त्यस यता कम्पनीको व्यापार निरन्तर खुम्चिँदो थियो । कोभिडपछि आर्थिक मन्दीले कम्पनीको व्यापारमा निकै प्रभावित बनाएको थियो । तर, अहिले भने व्यापाक मात्रामा बढेको देखिन्छ । कम्पनीले निर्माण सम्बन्धी सामग्री बिक्री वितरण गर्दै आएको छ । कम्पनी क्याटरपिलर निर्माण सामग्री, गोदरेज सामग्री र प्रोपेल–ब्रान्डेड सामग्रीको आधिकारिक बिक्रेता हो ।

निर्माण उपकरणको क्षेत्रमा सक्रिय बतासले अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित ब्रान्डहरूको आधिकारिक प्रतिनिधित्व गर्दै नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गएको छ ।

२०७३ मा स्थापना भएको कम्पनीले सन् २०१७ को जुनदेखि ‘क्याट’ ब्रान्डका निर्माण उपकरणहरूको आधिकारिक डिलरको रूपमा व्यवसाय सुरु गरेको हो । त्यसपछि कम्पनीले सन् २०१८ को जनवरीदेखि ‘गोडरेज’ उपकरणहरूको डिलरशिप प्राप्त गर्दै सेवा विस्तार गरेको थियो । साथै, सन् २०२० को जुनदेखि कम्पनीले ‘प्रोपेल’ ब्रान्डका उत्पादनहरूको नेपालका लागि वितरकको रूपमा काम गर्दै आइरहेको छ ।

कम्पनीमा पाँच जनाको व्यवसायीहरुको मुख्य लगानी छ । बतास परिवारको प्रमुख स्वामित्व आनन्द राज बतास र शान्त राज बतासको ६७ प्रतिशत रहेको छ । नेपाली अटोमोबाइल तथा सम्बन्धित क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि व्यवसायिक उपस्थिति राख्दै आएको छ ।

कम्पनीले नेपालभर निर्माण क्षेत्रका ग्राहकहरूलाई गुणस्तरीय सेवा तथा प्रविधिसम्पन्न उपकरण उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले कुल १ अर्ब १३ करोड ६० लाख रुपैयाँ कर्जाका लागि रेटिङ्ग गराएको छ । योमध्ये ७४ करोड रुपैयाँ भने दीर्घकालिन र ३९ करोड ६० लाख रुपैयाँ अल्पकालिन कर्जाका लागि रेटिङ्ग गराएको हो ।

इक्राका अनुसार बतासले दीर्घकालिन कर्जाको रेटिङलाई ‘इक्राएनपी बी माइनस’ र अल्पकालिन कर्जाका लागि ‘इक्रा एनपी ए फोर’ मा पुनःपुष्टि गरेको छ । यो रेटिङले कम्पनीको हालको वित्तीय स्थिति, व्यवसायिक जोखिम, तरलता अवस्था र चालुपुँजी कर्जामा देखिएको चुनौतीलाई प्रतिबिम्बित गरेको छ । यो रेटिङ पुनःपुष्टिले कम्पनीका लागि वित्तीय अनुशासन तथा कार्यशील पुँजीको सुधार र प्रभावकारी व्यवस्थापन अझै जरुरी रहेको देखाएको छ ।

कम्पनीको सिमित मोडेलमा आम्दानी निर्भरता, कार्यशील पुँजी चक्रमा उच्च दबाब र बैंक ऋणमा अत्यधिक निर्भरता जस्ता पक्षहरूले रेटिङमा प्रभाव पारेका छन्। यद्यपि, बतास समूह बलियो पृष्ठभूमि, व्यवस्थापन अनुभव र अटोमोबाइल क्षेत्रमा लामो ट्र्याक रेकर्डलाई भने सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्