सलिकोलाई इक्राको ‘ए’ रेटिङ, वित्तीय विश्वसनीयतामा उच्च भरोसा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले ‘ए’ रेटिङ पाएको छ ।
इक्रा नेपालले सलिकोलाई ‘इक्रा आईआरे ए’ रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा राम्रो सुरक्षा रहेको संकेत गर्छ । संस्थाको क्रेडिट जोखिम न्यून हुन्छ ।
रेटिङ कम्पनीको समग्र वित्तीय विश्वसनीयताको मूल्यांकन हो, जसले लगानीकर्ता र ऋणदातालाई अपेक्षाकृत सुरक्षित ठान्न प्रेरित गर्छ । उक्त रेटिङ कुनै विशेष ऋण साधनका लागि नभई कम्पनीको समग्र वित्तीय विश्वसनीयता (क्रेडिटयोग्यता) को मूल्याङ्कन मात्र हो।
सलिकोे साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको कम्पनी हो । यी दुई कम्पनी मर्जपछि बृहत् सञ्चालन र सुदृढ बजार उपस्थिति मुख्य आधार बनेको इक्रा नेपालले जनाएको छ ।
मर्जपछि सलिकोले कुल सम्पत्ति र बजार हिस्सा विस्तार गर्दै बीमा क्षेत्रमा प्रमुख स्थान बनाएको छ । २.७६ गुणाको सोल्भेन्सी अनुपात, सेइलिन्को होल्डिङ्स पीएलसी जस्ता संस्थागत लगानीकर्ता र अनुभवी व्यवस्थापनको उपस्थिति कम्पनीको मजबुत पक्ष मानिएको छ ।
कम्पनीको व्यापार विस्तारमा निकै जोड दिएको छ । बीमा प्राधिकरणले हालै प्रकाशन गरेको गत जेठ मसान्तसम्मको विवरवण अनुसार कम्पनीको व्यवसाय ४ अर्ब ५० करोड ३७ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले ११ महिनामा कुल २ लाख ५४ हजार ४५४ वटा बीमालेख जारी गरेको छ ।
कम्पनीका प्रमुख सेयरधनी श्रीलंकास्थित सेइलिन्को होल्डिङ्स पीएलसी (११.४ प्रतिशत) छ । यस्तै, लुम्बिनी विकास बैंकको ४.२ प्रतिशत, मनोहर दास मूल ४.१ प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड ३.५ प्रतिशत सेयर स्वामित्व छ । निर्जीवन बीमा सलिको दोस्रो पोजिशनमा छ ।