निराश लगानीकर्ता र घरजग्गा व्यवसायीलाई राष्ट्र बैंकको थप मलम, के बजारमा नयाँ उछाल आउनेछ ? « Arthapath.com
६ असार २०८३, शनिबार

निराश लगानीकर्ता र घरजग्गा व्यवसायीलाई राष्ट्र बैंकको थप मलम, के बजारमा नयाँ उछाल आउनेछ ?



काठमाडौं । निराश लगानीकर्ता र सुस्ताएका घरजग्गा कारोबारीका लागि नेपाल राष्ट्र बैंकले एकाएक खुसीको सन्देश ल्याएको छ ।

राष्ट्र बैंकले शुक्रबार आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रिय बैंकले सेयर बजार निजी आवासीय क्षेत्रलाई राहत हुने नीति अघि सारेको छ । सेयर बजारमा विश्वासतता बढाउन र लगानीको चक्रलाई पुनः गतिमा ल्याउन केन्द्रिय बैंकले सहज नीति ल्याएको हो ।

केन्द्रिय बैंकले सेयर बजारमा नयाँ ऊर्जा ल्याउने गरि कर्जा सीमा बढाएको छ । सेयर धितोमा आधारित कर्जा लिने लगानीकर्तालाई अब अझ ठूलो कर्जा सुविधा उपलब्ध हुनेछ ।

व्यक्तिगत सेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पु¥याइएको गभर्नर डा. विश्वनाथ पोडेलले बताए । यस्तो कर्जाको सीमा १० करोड बढाइएको हो ।

केही महिना अगाडि मात्रै केन्द्रीय बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाइएको थियो । यस्तो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको थियो । संस्थागत सेयर धितो कर्जामा भने पहिल्यै सीमा हटाइएको थियो ।

यता, मौद्रिक नीति मार्फत घरजग्गामा पनि राहत दिइएको छ । मूल्यवृद्धि, निर्माण लागत र वित्तीय पहुँचका सन्दर्भमा निजी आवास निर्माणकर्ता तथा खरीदकर्तालाई राष्ट्र बैंकले अर्को राहत दिएको हो ।

अब निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा लिन पाइने व्यवस्था गरेको छ । जुन यसअघि २ करोड रुपैयाँसम्मको थियो । यस्तै, पहिलो घर खरिदकर्ताका लागि कर्जा–मूल्य अनुपात ८० प्रतिशत कायम गर्न सकिनेछ भने अन्य अवस्थामा यो अनुपात ७० प्रतिशतसम्म सीमित हुनेछ ।

पछिल्लो समय निक्षेपकर्ताको मनोबल घट्दै गएको छ । यता, लगानीकर्तामा अन्योल देखिएको छ । कर्जाको पहुँच कमजोर बन्दै गएको समयमै आएको यो नीति बजारको मनोबल उठाउने प्रयास गरेको बताइन्छ ।

केन्द्रीय बैंकले यस्तो नीति ल्याएर वित्तीय प्रणालीमा सकारात्मक संकेत दिएको छ । यसका साथै घर किन्न चाहने नागरिकदेखि सेयर लगानीकर्तासम्मको पहुँच र अवसर दुवै बढाउने वातावरण निर्माण गर्न खोजेको देखिन्छ ।

मौद्रिक नीतिले मूल्य तथा बाह्य क्षेत्रको स्थायित्व, वित्तीय स्थिरता, समष्टिगत आर्थिक सन्तुलन र सरकारले लिएको आर्थिक लक्ष्य हासिल गर्न टेवा पुग्ने गभर्नर पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस्