स्पोर्टी डिजाइन, स्मार्ट फिचर र सुपर परफर्मेन्सः नेपालमा बिक्रि सुरु भएको बीवाईडी सिलायन-७ कस्तो छ ?
काठमाडौं । नेपाली ग्राहकका लागि बहुप्रतीक्षित विद्युतीय गाडी बीवाईडी सिलायन-७ अब औपचारिक रूपमा बिक्रीमा आएको छ।
चीनको चर्चित इलेक्ट्रिक गाडी निर्माता बीवाईडीको यो मोडल बिहीबार साँझ आयोजित एक विशेष समारोहबीच साइमेक्स इन्कले नेपाली बजारमा सार्वजनिक गरेको हो। साइमेक्स इन्क नेपालका लागि बीवाईडीको आधिकारिक वितरक हो।
सिलायन-७ नेपाल भित्रिएको केही समय भइसके पनि यसको औपचारिक लन्च अहिले मात्र गरिएको हो। कम्पनीले गत वर्ष आयोजित नाडा अटो शो २०२४ मा यो गाडीलाई पहिलोपटक प्रदर्शनीमा राखेको थियो। त्यतिबेला ग्राहकबीच उत्साहजनक चासो देखिएको गाडीको बिक्री भने अब मात्र सुरु गरिएको हो।
यससँगै, नेपाली इलेक्ट्रिक गाडी बजारमा बीवाईडीले आफ्नो उपस्थिति अझ सशक्त बनाएको छ।

के के छन् विशेषता ?
चीनको अग्रणी अटो ब्रान्ड बिवाइडीले निर्माण गरेको सिलायन-७ एक पूर्ण विद्युतीय प्रदर्शन एसयुभी हो जसले स्पोर्टी डिजाइन, उन्नत प्रविधि र उच्च सुरक्षा सुविधाहरूलाई समेटेको छ। यो गाडी बिवाइडीको ई–प्लेटफर्म ३.० मा निर्माण गरिएको हो, जसले बुद्धिमत्ता, ऊर्जा दक्षता, सुरक्षालाई प्राथमिकता दिएको बताइएको छ।
गाडीको डिजाइन ‘समुद्री सौन्दर्य’ बाट प्रेरित छ, जसले सिलायन–७ लाई भविष्यवादी र आकर्षक बनाएको छ। लामो व्हीलबेसका कारण गाडीको भित्री भाग निकै फराकिलो र आरामदायी भएको छ। स्टाइल र कार्यक्षमताको सन्तुलन यस मोडलको प्रमुख विशेषता हो।
बिवाइडी सिलायन–७ प्रमियम (आरडब्लुडी) र पर्फमेन्स (एडब्लुडी) दुई भर्सनमा उपलब्ध छ । यसको प्रिमियम भेरिएन्टले ६.७ सेकेन्ड र परफर्मेसन भेरिएन्टले ४.५ सेकेन्डमा ०-१०० किलोमिटर प्रति घण्टाको गति लिन्छ । फुल चार्जमा प्रिमियम भेरिएन्टले ५६७ किलोमिटर र परफर्मेसन भेरिएन्टले ५४२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। यसले यात्रुहरूलाई द्रुत र शक्तिशाली ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

सुरक्षाका लागि गाडीमा बिवाइडीको चर्चित ब्लेड ब्याट्रि प्रविधि प्रयोग गरिएको छ। यो ब्याट्रीले उच्च तापक्रम र दबाब सहन सक्ने क्षमता राख्दछ, जसले नेपाली भूगोल र जलवायु अनुसार सुरक्षित यात्रा सुनिश्चित गर्छ।
यात्रालाई थप आरामदायी बनाउन, यस गाडीमा क्लोज अफ ग्रिल, फ्रन्ट बम्परमा एग्रेसिभ कट र क्रिज लाइन, साइडमा १९ इन्चको ड्युअल टोन अलोय ह्विल, २० इन्चको ह्विल विकल्प, फ्लश टाइप डोर ह्यान्डल र आर्कको माथि ब्ल्याक रग्ड क्लेडिङ दिइएको छ ।
कारको रियरमा पिक्सल डिजाइन एलिमेन्टको साथमा कनेक्टेड एलईडी टेल लाइट र ब्ल्याक रियर बम्पर दिइएको छ । बम्परमा फग ल्याम्प पनि छ । स्टोरेजका लागि यसमा ५८ लिटरको फ्रन्ट र ५२० लिटरको बुट स्पेस दिइएको छ । यसको पछाडिको सिट फोल्ड गरेर बुट स्पेसलाई १७८९ लिटरसम्म बढाउन सकिन्छ ।
सो एसयूभीमा रोटेटेबल १५.६ इन्च टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकर साउन्ड सिस्टम, हेड–अप डिस्प्ले र सनशेडसहितको प्यानोरामिक ग्लासको छत जस्ता फिचर उपलब्ध छ । साथै हिटिङ र भेन्टिलेसन फंक्शन भएको सिट, ५० वाटको वायरलेस फोन चार्जर, कनेक्टेड कार टेक र पावर्ड टेलगेट जस्ता फिचर पनि उपलब्ध गराइएको छ ।

सेफ्टीका लागि यसमा ११ एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सर जस्ता सुविधा उपलब्ध गराइएको छ। यसमा एडास सिस्टम पनि प्रदान गरिएको छ, जसमा रियर कोलिजन वार्निङ र एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध छ ।
प्रिमियम भेरिएन्ट रियर ह्विल ड्राइभ कन्फिगरेसनमा आउँछ, जसले ३१३ एचपी पावर र ३८० एनएम टर्क उत्पन्न गर्छ । परफर्मेसन भेरिएन्ट अल ह्विल ड्राइभ विकल्पमा आउँछ, जसले ५३० एचपी पावर र ६९० एनएम टर्क उत्पन्न गर्छ ।
साइमेक्स इन्कका अनुसार, नेपाली बजारमा प्रमियम (आरडब्लुडी)को प्रारम्भिक मूल्य रू. ४७ लाख ९९ हजार र पर्फमेन्स (एडब्लुडी) को मूल्य रू. ७२ लाख ९९ हजार तोकिएको छ।
बिवाइडी र साइमेक्स इन्कको दाबी अनुसार, सिलायन–७ नेपाली ग्राहकका लागि शक्ति, प्रविधि र लक्जरीको परिपूर्ण मिश्रण हो। यो गाडीले विद्युतीय सवारीसाधनप्रतिको विश्वासलाई अझ बलियो बनाउने र नेपाली बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।














