आजबाट सुरु हुँदै नेपालकै ठूलो अटो एक्स्पो: ५० बढी ब्रान्ड, ३५ नयाँ मोडल, ८० हजार दर्शकको अपेक्षा
काठमाडौं । ‘सवारीसाधनको भविष्य यहीँ देखिन्छ’ भन्ने अनुभूति दिलाउने गरी आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’।
प्रविधि, पर्यावरण र नविन सोचलाई एकसाथ जोड्दै आयोजना गरिएको यो प्रदर्शनीले नेपाली मोबिलिटी क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा पहिलो पटक हुन लागेको एक्स्पो साउन २५ गतेसम्म चल्नेछ । उक्त एक्स्पोको उद्घाटन समारोह भने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा गरिने कार्यक्रम छ ।
प्रदर्शनीमा ३५ नयाँ सवारी मोडलहरू पहिलो पटक सार्वजनिक हुँदै छन्। तीमध्ये १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक सवारी (ट्रक, भ्यान, मिनीबस) समावेश छन्। धेरैजसो मोडलहरू विद्युतीय प्रविधिमा आधारित छन्, जसले नेपालको हरित यातायात लक्ष्यमा टेवा पु¥याउनेछ ।
५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहने यस एक्स्पोमा एभरेष्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमुख प्रायोजकका रूपमा छन् ।
भृकुटीमण्डप परिसरमा जलनिकासी, अपांगमैत्री पहुँच तथा अन्य संरचनागत सुधार पूरा गरिएका छन् । यात्रुहरूका लागि पठाओले ३० प्रतिशतसम्म छुट प्रदान गर्नेछ भने फ्रन्टलाइन हस्पिटलले २४ सै घण्टा आकस्मिक तथा सामान्य स्वास्थ्य सेवा र एम्बुलेन्स उपलब्ध गराउनेछ ।
एक्स्पोलाई अझै रचनात्मक बनाउन नाइमाले अनलाइन भिडिओ प्रतियोगिता सार्वजनिक गरेको छ । साउन २० गतेसम्म सामाजिक सञ्जालमा अपलोड गरिएका भिडिओमध्ये उत्कृष्ट एक जनालाई १ लाख रुपैयाँ पुरस्कार दिइनेछ ।
त्यस्तै, आजदेखि साउन २५ गतेसम्म अपलोड गरिने उत्कृष्ट १० भिडिओलाई जनही १०–१० हजार रुपैयाँ प्रदान गरिने नाइमाले जनाएको छ ।
आज उद्घाटन समारोहपछि दिउँसो २ बजेबाट अनिल केशरी शाहको प्रस्तुतीमा ‘मोबिलिटीः हिजो, आज र भोलि’ विषयक ज्ञान सत्र आयोजना हुनेछ । अन्य दिनमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयलगायत निकायका विज्ञहरूको प्यानल छलफल हुनेछ ।
नाइमाकी अध्यक्ष रितु सिंह वैद्यका अनुसार टिकट बिक्रीबाट प्राप्त हुने आम्दानीको ५ प्रतिशत शिक्षा मन्त्रालय र सीटीइभिटी सँग सहकार्य गरी मोबिलिटीसम्बन्धी छात्रवृत्ति तथा फेलोशिप कार्यक्रममा खर्च गरिनेछ । उनले एक्स्पोलाई नेपालकै सबैभन्दा प्रभावशाली अटोमोबाइल प्रदर्शनी बन्ने दावी गरिन् । आगामी वर्षहरूमा अझ प्रविधिमैत्री र समावेशी संस्करण ल्याउने उनको प्रतिवद्धता छ ।
एक्स्पोको टिकट खल्ती बाइ आईएमई एपमार्फत खरिद गर्न सकिनेछ । आयोजकको अनुमान अनुसार करिब ८० हजार दर्शकले यो प्रदर्शनी अवलोकन गर्ने छन्।
नयाँ प्रविधिको प्रत्यक्ष अनुभव, विद्युतीय सवारीको परीक्षण, विज्ञहरूसँग संवाद र विविध ब्रान्डहरूको नवप्रवर्तनलाई नजिकबाट बुझ्नका लागि यो एक्स्पो छुटाउन नहुने आयोजनाले जनाएको छ ।













