किसानका लागि आएको २०० बोरा अनुदानको मल लुकाएर राख्ने व्यापारी प्रहरी फन्दामा
काठमाडौं । सरकारले किसानका लागि पठाएको अनुदानको मल लुकाउने व्यापारी पक्राउ परेका छन् ।
२०० बोरा अनुदानको मल लुकाएर गोदाममा भण्डारण गरेको अभियोगमा उदयपुरको कटारीबाट व्यापारी दिलीप चौधरी पक्राउ परेका हुन् ।
उनको स्टोरबाट अनुगमनका क्रममा मल फेला परेपछि प्रहरीले पक्राउ गरी ६ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।
१२ भदौमा भएको बजार अनुगमनमा चौधरीको गोदाममा अनुदानको मल लुकाएर राखिएको पाइएको थियो । शिलबन्दी गरी छानबिन थालिएको उक्त मल अहिले सर्वदलीय सहमतिपछि किसानलाई वितरण थालिएको छ ।
कटारी नगरपालिका–१ देखि ७ नम्बर वडासम्म १७५ बोरा मल वितरण गरिनेछ । किसानले प्रति बोरा एक हजार रुपैयाँ तिरेर मल पाउनेछन् भने उठेको रकम नगरको राजस्व खातामा जम्मा गरिने छ ।















