लगानीकर्ताहरूले भेटे गभर्नर, बुझाए ६ बुँदे मागसहितको ज्ञापनपत्र
काठमाडौं । लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई ६ बुदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।
वरिष्ठ लगानीकर्ता छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की लगायतको टोलीले ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख उपस्थिति रहेको सेयर बजारमा राष्ट्र बैंकको सक्रियता अपरिहार्य रहेको भन्दै लगानीकर्ता मैत्री वातावरण बनाउन आग्रह गरेका छन् ।
दोस्रो बजारमा बैंकहरूको सहज पहुँच, व्यक्तिगत सेयर धितो कर्जाको सीमा हटाउने, लघुवित्तको लाभांश सीमा खुला गर्ने, बैंकहरूको लगानी सीमा परिमार्जन गर्ने, सेयर धितो कर्जा सीमा बढाउने र एनआरएनलाई पुँजीबजारमा आकर्षित गर्न नीति संशोधन गर्नेसहितका मागहरू उल्लेख छन् ।
लगानीकर्ताहरूले बजारमा स्थिरता ल्याउन राष्ट्र बैंकले तत्काल हस्तक्षेप गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
















