बाढी–पहिराबाट इलाममा ११ अर्ब ८१ करोडको क्षति
काठमाडौं । गत असोज १८ र १९ गतेको भीषण वर्षापछि आएको बाढी–पहिरोले इलाममा ११ अर्ब ८१ करोड रुपैयाँ बढीको क्षति पुगेको छ ।
बाढी–पहिरोका कारण जिल्लाका सडक, पुल, भवन, खानेपानी, सिँचाइ, कृषि, पशुपन्छी र विद्युत् लगायतका क्षेत्रमा ठूलो भौतिक नोक्सानी भएको हो ।
जिल्ला प्रशासन कार्यालयले ११ वटा सम्बन्धित सरकारी निकायबाट संकलन गरेको प्रारम्भिक विवरणअनुसार सडक क्षेत्रमा मात्र ७ अर्ब रुपैयाको क्षति पुगेको छ ।
पूर्वाधार विकास कार्यालय अन्तर्गतका सडक, पुल र भवनमा झन्डै साढे ३ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
त्यस्तै, सिँचाइ, जलस्रोत र नदी नियन्त्रण परियोजनामा ३२ करोडभन्दा बढी क्षति भएको छ । विद्युत् संरचनामा झन्डै २ करोड ५० लाख, खानेपानी योजनामा ५० करोड नोक्सानी पुगेको भने कृषिजन्य बालीमा करिब २८ करोड, चिया बगानमा झन्डै पाँच करोड, र पशुपन्छी क्षेत्रमा करिब चार करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
बाढीपहिरोमा ३९ जनाको मृत्यु, २६ जना घाइते र एक जना अझै बेपत्ता छन् । जिल्लामा ३६५ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ९४० घर आंशिक क्षतिग्रस्त भएका छन्। सात सयभन्दा बढी परिवार विस्थापित भएका मध्ये अधिकांश आफन्तकहाँ आश्रय लिइरहेका छन्।
क्षतिको विस्तृत विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।













