९ श्रावण २०८३, शनिबार

सेजनद्वारा एकसाथ सात जना आर्थिक पत्रकार पुरस्कृत



काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले स्थापनाको २९औँ वार्षिकोत्सवका अवसरमा विभिन्न अवार्ड र पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सेजनले विभिन्न विधातर्फ सेजन अवार्ड र पुरस्कार वितरण गरेको हो ।

सेजनका अनुसार १ लाख रुपैयाँ राशिको सेजन अवार्ड दुई जना पत्रकारलाई प्रदान गरिएको छ ।

नयाँ पत्रिका दैनिकका पवन तिमिल्सिनालाई ‘पूर्वविशिष्टहरुको सेवा बढाएर तयार गरिएको विधेयक’ र त्यसको फलोअप समाचारलाई प्रदान गरियो भने अनलाइन खबर डटकम भुवन पौडेललाई ‘दीपेन्द्र अग्रवालको कारोबार : आफूले बेचेको शेयर आफै किन्ने, महंगोमा जनता फसाउने’ शीर्षकको समाचारलाई प्रदान गरिएको सेजनले जनाएको छ ।

उक्त अवार्ड तथा पुरस्कार छनोटका लागि सेजनका पूर्वअध्यक्ष डा. गोपाल तिवारीको संयोजकत्वमा समिति बनाइएको थियो । तिमिल्सिना र पौडेललाई ५०–५० हजारका दरले पुरस्कार वितरण गरिएको हो ।

त्यसैगरी ५० हजार रुपैयाँ राशिकै सेजन छापामाध्यमतर्फको अवार्ड कान्तिपुर दैनिकका विमल खतिवडालाई प्रदान गरिएको छ । खतिवडालाई ‘टुक्रे आयोजनामा बजेट विनियोजनसम्बन्धी शीर्षकको समाचारलाई उक्त अवार्ड प्रदान गरिएको सेजनले जनाएको छ ।

साथै ५० हजार रुपैयाँ राशिको सेजन डिजिटलमाध्यमतर्फको अवार्ड बिजमाण्डू डटकमका सुनील कुँवरलाई प्रदान गरिएको छ । उनलाई ‘आइपीओका नाममा प्रिमियम पैसा उठाएर कर छली’ शीर्षक र सोसम्बन्धी ‘फलोअप’ समाचारका लागि उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

अर्को १ लाख रुपैयाँ राशिको डा. भोला चालिसे लिबरल जर्नालिज्म अवार्ड पनि टुक्राएर दुई जना पत्रकारलाई प्रदान गरिएको छ । सेजनका अनुसार उक्त पुरस्कार अन्नपूर्ण दैनिककी पत्रकार सुनिता कार्कीलाई ‘एकीकृत फोहरमैला व्यवस्थापन परियोजना १४ वषदेखि अलपत्र’ शीर्षकको समाचारका लागि र नेपालन्यूज डटकमका उद्धव थापालाई मुअब्जाको पासोमा ठूला परियोजना शीर्षकको समाचारका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

वार्षिकोत्सवको अवसरमा सेजनका पूर्वउपाध्यक्ष स्व. सञ्जय न्यौपानेको स्मृतिमा स्थापना गरिएको फेलोशिप अर्थात् स्व. सञ्जय न्यौपाने लेखनवृत्ति, २०८२ गोरखापत्र दैनिकका भेषराज बेल्वासेलाई प्रदान गरिएको छ । उनले प्रस्ताव गरेको ‘महाभूकम्प, कोभिड–१९, बाढी र जेनजी आन्दोलनले लघु, घरेलु तथा साना उद्योग व्यवसायमा परेको प्रभाव’ शीर्षकको अनुसन्धान प्रस्तावलाई उत्कृष्ट ठहर गर्दै उनलाई फेलोशिप दिने निर्णय भएको बताइएको छ । यो फोलोशिप एक लाख रुपैयाँ राशिको हो ।

सोही अवसरमा सेजनका पूर्वकार्यसमिति सदस्य स्व. सागर घिमिरेको स्मृतिमा आयोजना गरिएको ‘स्व. सागर घिमिरे स्मृति फुटसल प्रतियोगिता’का विजेता र उपविजेता टोलीलाई पनि पुरस्कार प्रदान गरिएको छ ।

फुटसल प्रतियोगिताका पुरुष तथा महिला टोलीका विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरिएको हो । दुबै समूहका विजेता टोलीलाई १५ हजार रुपैयाँ, पदक र ट्रफी प्रदान गरिएको छ । पुरुषतर्फको उपविजेता टोलीलाई १० हजार रुपैयाँ, पदक र ट्रफी प्रदान गरिएको छ ।

साथै प्रतियोगिताका उत्कृष्ट गोलकर्ता उजिर कार्कीलाई २५०० रुपैयाँ र गोल्डेनबुट प्रदान गरिएको छ भने उत्कृष्ट गोलरक्षक केदारप्रसाद दाहाललाई गोल्डेन ह्यान्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

फूटसल प्रतियोगितामा पुरुषतर्फ ६ टोली र महिलातर्फ २ टोलीको सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्